११ असोज, नेपालगञ्ज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैह वसल्लमको १४९८औं शुभ जन्मोत्सव ईद–मिलाद्दुन्नबी अर्थात मोहम्मद डे आज हर्षाेल्लासका साथ मनाइँदै छ ।
इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिनाको १२ तारिखका दिन (सन् ५७१ अप्रिल २२ मा) बुवा अब्दुल्लाह तथा आमा आमिनाको कोखबाट साउदी अरबको मक्का शहरमा भएको थियो यसै दिनको सम्झनामा विश्वभरका इस्लाम धर्मावलम्बीहरुले भव्यताका साथ विविध कार्यक्रम गरी हजरत मोहम्मदको शुभ जन्मोत्सव मनाउने गर्दछन् ।
यस अवसरमा आज बिहान विभिन्न मस्जिद, मदरसामा अध्यनरत बालबालिका तथा इस्लाम धर्मावलम्बीहरु सम्मिलित झाँकी सहितको ¥यालीले नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।
¥याली समापनपछि नगरका विभिन्न मस्जिद, मदरसाहरुमा पैगम्बर मोहम्मदको जीवनीमाथि आधारित प्रवचन कार्यक्रमको आयोजना गरिने भएको छ ।
मोहम्मद डे को अवसरमा लुम्बिनी प्रदेश सरकारले इस्लाम धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको छ ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले आज बिहीबार नेपालगञ्ज क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरूलाई सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीले मनाउने मोहम्मद डे को अवसरमा बिदा दिइएको उपमहानगरले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव गोरखबहादुर थापाद्वारा जारी सूचनामा नेपालगञ्ज क्षेत्रका सबै धार्मिक विद्यालय (मदरसा, गुरुकुल), सामुदायिक विद्यालयहरू तथा संस्थागत विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको जनाइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको कार्यक्रम अनुसार सञ्चालित कक्षा १२ को परीक्षा भने सञ्चालन नै हुने सूचनामा जानकारी गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here