नेपालगन्ज, भदौ १० । बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई बाँके युनेस्को क्लबले नेपालगन्जमा ट्राईसाईकल ( तीन पांग्रे हाते साईकल ) वितरण गरेको छ । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले नेपाल एकीकृत बिकास परियोजना अन्तरगत आइतवार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई ट्राईसाईकल बितरण गरेको हो । सो परियोजना अन्तरगत जिल्लाका ३० जना अपाङ्गता तथा फरक क्षमता भएका महिला र पुरुषलाई ट्राईसाईकल बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधरले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी पुर्बमन्त्री मोहम्मद इश्तियाक राई, क्लबका प्रमुख संरक्षक प्रबेजअलि सिद्दिकी र अध्यक्ष तुलाधरले संयुक्त रुपमा अपाङ्गता तथा फरक क्षमता भएकाहरुलाई सो हाते साईकल हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै पुर्बमन्त्री राईले यो सहयोग अतिनै महत्वपुर्ण रहेको उल्लेख गर्दै यस्तो सहयोगले अपाङ्गता भएका ब्यक्तिहरुको दिनचर्यालाई सहज बनाउनुका साथै यसको प्रयोगले आत्मबल समेत बढाउने बताउनुभयो । उहाँले आफुजस्ता राजनिती गर्नेहरुको ध्यान नपुगेको हेर्दा सानो देखिने यस्ता सहयोगहरु अपाङ्गता भएकाहरुको जीवनका लागि निकै अर्थपुर्ण रहेको बताउनु भयो । पुर्वमन्त्री राईले युनेस्को बाँकेले लामो समयदेखि पिछिडिएका र विपन्न वर्गका लागि धेरै राम्रा कामहरु गर्दै आएकोमा संस्थामा आवद्ध सबैप्रति आभार समेत व्यक्त गर्नुभयो । परियोजनाकी संयोजक बिनिता आरसीले नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाका अपाङ्गता तथा फरक क्षमता भएका महिला पुरुषको छनोट गरेर ट्राईसाईकल सहयोग गरिएको जानकारी दिनुभयो । क्लबका संरक्षण अधिकृत गुलाम गौसले संचालन गर्नु भएको वितरण कार्यक्रममा क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, कार्यक्रम अधिकृत नदिम शाह, सल्लाहकारहरु सिराज खान, नरेन्द्र थापा र राकेश मिश्रा लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here