१५ श्रावण, नेपालगञ्ज । लेखा व्यस्थापन र वर्तमान कर प्रणाली विषयक एक दिने तालिम नेपालगञ्जमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखा र आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको संयुक्त आयोजनामा सोमबार सो तालिम सम्पन्न भएको हो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत सुदिश कुमार अर्यालले करको विषयमा बिभिन्न खालका जटिलताहरु रहेको बताउदै तालिमबाट करको विषयमा रहेका जटिलता र समस्याको हल गर्न मद्दत पुग्ने बताए । गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाका सदस्य तथा तालिम संयोजक मन भण्डारीले सञ्चालन गरेको उद्घाटन सत्रमा महासंघका कोषाध्यक्ष सुर्यलाल यादवले स्वागत गरेका थिए ।
गैरसरकारी संस्थाहरुमा कार्यरत लेखा प्रमुखहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा आन्तरिक राजस्व कार्यालय नेपागन्जका कर अधिकृत लक्ष्मि प्रसाद उपाध्यय, चार्टर्ड एकाउटडेन्ट (सीए) तेज प्रकाश दिक्षित र गैसस महासंघ नेपाल, बाँके शाखा सदस्य मन भण्डारीले वर्तमान कर प्रणाली, करको दायरा, व्यवस्थित तरिकाले लेखा कसरी राख्ने, आयकरको गणना कसरी गर्ने, टिडिएस दाखिला कुन कुन समयमा गर्ने, पारिश्रमिक कर कसरी गणना गर्ने, इटिडिएस कसरी गर्ने, राजश्वको शिर्षकहरु के के हुन्छन, समयमा कर दाखिला नगरेमा के हुन्छ, कति रकम र कस्तो विलको टिडिएस कसरी गर्नुपर्दछ, आयकर ऐनमा गैरसरकारी संस्थासंग सम्बन्धी के व्यवस्था छ, लेखा परिक्षण, व्यवस्थित लेखा प्रणाली, सामाजिक परीक्षण लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनको अध्यक्षतामा भएको तालिमको समापन समारोहमा बोल्दै महासंघका सचिब आशिष वर्माले गैसस प्रतिनिधि र गैससमा कार्यरत कर्मचारीहरुको क्षमता विकासका लागि महासंघले बिभिन्न कार्यक्रम र तालिम सञ्चालन गर्ने वार्षिक योजना अनुसार तालिमको आयोजना गरिएको बताए । तालिमबाट लेखा ब्यवस्थापन र कर प्रणालीको विषयमा प्राप्त गरेको ज्ञानलाई कार्य क्षेत्रमा लागु गर्नुपर्ने उनले बताए ।
तालिममा बाँके जिल्लामा कार्यरत ३० भन्दा बढी संस्थाका लेखा प्रमुख र लेखा सहायकको सहभागिता रहेको थियो । तालिमको समापन समारोह गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाका सदस्य राजन वर्माले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here