१३ श्रावण, नेपालगञ्ज । ताजिया विसर्जनसँगै मोहर्रम पर्व शनिवार सम्पन्न भएको छ ।
कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रम अन्तर्गत शुक्रवार नगर तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका ताजियाहरु बाजागाजा, झाँकी प्रदर्शन, मातमगर्दै शनिवार फुल्टेक्रास्थित कर्बलाको मैदानमा लगेर विसर्जन गरिएपछि मोहर्रम पर्व सम्पन्न भएको हो ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाती हजरत इमाम हुसैन सहित उहाँका परिवार सदस्य आफन्त र उहाँका साथी लगायतकाहरुले शताब्दीयांै अघि ईराकको कर्बलामा शहादत प्राप्त गरेको स्मरणमा मोहर्रम पर्व लगातार दस दिनसम्म मनाइने गरिन्छ ।
गत बिहीवारदेखि शुरु भएको मोहर्रम पर्व अन्तर्गत नगर तथा गाउँपालिकाहरुमा जुलुस प्रदर्शन त्यस्तै बाजागाजा सहित जुलुस नगर परिक्रमा गराउने, मेहँदी जुलुस प्रदर्शन, आलम र मातम जुलुस, आगोको मातम र श्रावण १२ गते राती भाकल राखी पायक भर्ने, ताजियादारी र विभिन्न किसिमको झाँकी प्रदर्शन गरी राती जाग्राम बसी विभिन्न धार्मिक अनुष्ठान गरिएको थियो ।
मोहर्रम पर्वमा मुस्लिम समुदायका सुन्नी समुदाय नयाँ वर्षको अवसरमा खुशियालीका साथ मनाउने गर्छन् भने मुस्लिम समुदायका शियाहरु यसलाई दुःखको रुपमा मनाउने गरेका छन् ।
शताब्दीयौं अघि ईराकमा यजीद शासकको सेनाले हजरत इमाम हुसैन सहित उहाँको परिवार सदस्य, आफन्त र अन्य कैयन साथीहरुको नृशंसतापूर्वक नरसंहार गरेका थिए ।
विश्व भरी नै विभिन्न तरिकाले मनाइने गरिएको यो मोहर्रम पर्व नेपालगञ्जमा पनि शताब्दीयौंदेखि मनाइँदै आएको छ ।
मोहर्रम पर्व शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक सद्भाव समिति, नागरिक अगुवा लगायतको अहम भूमिका रहेको देखियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here