नेपालगञ्ज, जेठ ८ । प्लान इन्टर नेसनल नेपाल र बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा आयोजना गरेको संवाद कार्यक्रममा लैंगिक समानता र रोजगारीका अवसरका लागि शिक्षा र सिपमा विशेष जोड दिईएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रममा सहभागि हुनु भएका विभिन्न सरोकारवालाले युवा महिलाको रोजगारीका लागि महिला मैत्री वातावरण निर्माण गर्नुका साथै अभिभावक र सरोकारवाला निकाय सबैको सहयोग आवश्यक रहेको कुरामा जोड दिईयो । गुलरिया नगरपालिकाको महिला विकास शाखा प्रमुख शिला शाहले युवा महिलाको आर्थिक अवस्था बलियो बनाउन उनिहरुलाई रोजगारी र व्यवसायमा लगाउनु आवश्यक रहेको जनाउँदै त्यसका लागि लैंगिक समानता, समान अवसर र अभिभावकको सहयोग अपरिहार्य भएको बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय गुलरियाका केशवराज सिग्देलले युवा महिलाको व्यवसाय र सिपका लागि अभिभावकको भूमिका सबैभन्दा अहम रहेको जनाउँदै त्यसपछि अन्य सरोकारवाला निकायको भूमिका चाहिने बताउनु भयो । उहाँले परिवारको सहयोग, लैैंगिक समानता र समान अवसरले मात्रै युवा महिलाले रोजगारीमा सफलता पाउने बताउनुभयो । पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले लैङ्गिक असमझदारी हटाई महिलालाई स्थानीयस्तरबाट रोजगारीका अवसरहरु सृजना गर्न तथा सुरक्षित वातावरण निर्माणका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजिकरण गर्दै निरज न्यौपानेले शिक्षाका लागि कसैलाई समस्या परे आफुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सो कार्यक्रममा युवा महिला, अभिभावक र सरोकारवाला निकायका प्रतिनिधि गरेर ५३ जनाको सहभागिता रहेको थियो । सो अवसरमा सहभागि युवा महिला तिला थारुले २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने र विवाह गर्नु अघि आर्थिक रुपमा सबल भएरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । सोही प्रकारले अभिभावक पार्वती चौधरी र हिरामोती थारुले युवा महिलालाई रोजगारीमा लगाउन आफुहरुको पुर्ण सहयोग रहने जनाउँदै लैंगिक समानता र समान अवसर मिल्नु पर्नेमा जोड दिनुभयो । बाँके युनेस्को क्लबले बर्दियाका युवा महिलाको रोजगारीकालागि स्थानीय स्तरमा अवसर, सम्भावना तथा आगामी प्राथमिकताका विषयमा छलफल गर्न विभिन्न पालिकामा संवाद कार्यक्रम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here