९ वैशाख, नेपालगञ्ज । इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र ‘ईद’ आज देशभर हर्षाेल्लासका साथ मनाइँदैछ ।
शुक्रवार चन्द्रमा देखिएपछि आज शनिवार ‘ईद’ पर्व मनाउन लागिएको हो ।
इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र ‘ईद’ रमजानको एक महिनासम्म चल्ने रोजा (व्रत) सम्पन्न भएको खुशियालीमा मनाउने गरिन्छ । रमजान महिनामा मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएकाले यस महिनालाई पवित्र महिनाका रुपमा पनि लिने गरिन्छ ।
ईद पर्वमा इस्लाम धर्मावलम्बीहरुले इदगाहमा गएर सामूहिक रुपमा नमाज पढ्नुका साथै प्रार्थना गरेर एक आपसमा शुभकामना आदान प्रदान गर्ने परम्परा छ ।
पर्वको अवसरमा इस्लाम धर्मावलम्बीहरुले फितरा, जकातका साथै सदका र हदिया पनि निकाल्ने गर्छन् । फितरा जनही एक किलो ७५० ग्राम गहुँको मूल्य बराबर निकाल्नु पर्छ भने जकात सम्पत्ति शुद्धीकरणका लागि सयकडा अढाइ प्रतिशत निकाल्नु पर्छ । यो संकलित रकम विपन्न परिवार तथा मदरसामा वितरण गरिन्छ ।
रोजा, नमाज, जकात, हज र फितरा यी पाँच आधारभूत कुरा मुसलमानहरुका लागि महत्वपूर्ण भएकाले हजबाहेकका अन्य सबै पुण्य यस महिनामा प्राप्त हुने गर्छन् ।
रोजा पर्व एक कठिन व्रत हो । ११ वर्षदेखि माथिका सबैलाई अनिवार्य गरिए पनि बिरामी, गर्भवती महिला र अशक्त मानिसलाई अनिवार्य गरिएको छैन ।
ईदको अवसरमा एकाबिहानै नयाँ लुगा लगाएर नमाज (प्रार्थना) गरेपछि जकात (आफ्नो वार्षिक आम्दानीबाट छुट्याइएको दशांस रकम) बाट दीन–दुःखीलाई लुगा, खानेकुरा दिएर घर–घरमा शुभकामना आदान–प्रदान गर्दै विभिन्न परिकार खाने र खुवाउने गरिन्छ ।
ईदको नमाज आज बिहान ८ बजे स्थानीय ईदगाहमा सम्पन्न भएको छ । नमाजपछि आयोजित प्रार्थनासभामा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सुख, शान्ति, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति तथा शान्ति, अमन चयनका लागि प्रार्थना गरिएको थियो ।
विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु ईदगाहमा ईदको शुभकामना आदान प्रदान गर्न पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here