२ चैत्र, नेपालगञ्ज । नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले युवाहरु नै ट्रेड यूनियन आन्दोलनको मेरुदण्ड भएको बताएका छन् ।
सोलीडाइरेटी सेन्टरको सहयोगमा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद्ले निर्माण क्षेत्र र गृह श्रममा आवद्ध युवा श्रमिकका लागि नेपालगन्जमा आयोजना गरेको तीन दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
यूवाको रोजगारी अभिवृद्धिमा जोड दिंदै सीप, दक्षता र योग्यता वृद्धि तथा बढी भन्दा बढी युवा श्रमिकलाई संगठित गर्नु अहिलेको आवश्यकता रहेको उनले धारणा राखे ।
अध्यक्ष श्रेष्ठले कार्यथलोमा युवा बाहुल्य नयाँ क्षेत्रको खोजी गर्दै संगठित गर्ने अभियान चलाउन युवाहरुलाई ट्रेड युनियन शिक्षा दिई क्षमता बृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको बताए ।
युवा श्रमिकमा ट्रेड युनियनप्रतिको आकर्षण बढाउन र ट्रेड युनियन आन्दोलनवारे बुझाउन तालिम आयोजना गरिएको सोलिडारिटी सेन्टर नेपालकी कन्ट्री डाइरेक्टर लुना रञ्जितले जानकारी दिए ।
जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्लेको अध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहमा एनटियुसी प्रदेश अध्यक्ष मुकुन्द अधिकारी, सोलिडारिटी सेन्टरकी बिनिता जिरेल, आईटियुसी एनएसीका रुपेश सिग्देल, जिफन्टका केन्द्रीय सदस्य पूर्ण केसी, बाँके इन्चार्ज सुमन गिरी, अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष दान बहादुर ओली लगायतले बोलेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा जिफन्ट, ट्रेड युनियन कांग्रेस र नेपाल ट्रेड युनियन महासंघ आवद्ध १८ जना श्रमिक युवाको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here