२९ फागुन, नेपालगञ्ज । राप्तीसोनारीमा ’थारू समुदायको हक अधिकारका लागि नेपाली कांग्रेसको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ बाँके थारू समन्वय शाखाको आयोजनामा आइतवार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शम्शेरगञ्जमा ’थारू समुदायको हक अधिकारको लागि नेपाली कांग्रेसको भूमिका बिषयक अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको हो ।
बाँके क्षेत्र नम्बर १ का पार्टीका थारू नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको अन्तरक्रिया कार्यक्रमको पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले उदघाटन गरेका थिए ।
सो अबसरमा बोल्दै सहमहामन्त्री राठौरले नेपाली कांग्रेसले थारू लगायत सबै आदिवासी जनजातीहरूको हक अधिकारका लागि २०१५ सालदेखि नै आवाज उठाउँदै आएको बताए । समाबेशी तथा समानुपातिक सिद्धान्तलाई संबैधानिक रूपमा ब्यवस्था गर्ने काम पनि कांग्रेसले गरेको बताउँदै उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप हक अधिकारका लागि सबै संगठित हुनुपर्ने बताए । कमैया, कम्लहरी मुक्ति लगायत थारू अधिकारका लागि थारू आयोग बनाउने काम पनि कांग्रेसले नै गरेको राठौरले बताए ।
जिल्ला सभापति नारायणप्रसाद गौडेलले जातीय र भावनात्मक रूपमा नभई पार्टीले पार्टीमा काम गरेको आधारमा पार्टीका नेता तथा कार्यकर्ताहरुको मूल्यांकन हुने बताए । क्षेत्रीय सभापति पोषण केसीले थारू इतिहास र थारू हक अधिकारका बारेमा पार्टीले खेलेको भूमिकाका बारेमा बोल्दै परिवर्तनपछि बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधानमा थारू लगायत सबै जातजाती, भाषा, धर्म, संस्कृतिको बैधानिकरूपमा संरक्षण भए जस्तै पार्टीले पनि सोही बमोजिम बिधान संशोधन गरी समाबेशी तथा समानुपातिक सिद्धान्तलाई आत्मसात गर्दै थारू लगायत सबै आदिवासी जनजाती, महिला, मधेसी, मुस्लिम र पिछडिएको बर्गलाई स्थानीय तहदेखि केन्द्रसम्म न्यायोचितरूपमा सहभागितामूलक प्रतिनिधित्व सुनिश्चितता गरेको बताए ।
अन्तरक्रिया कार्यक्रममा डा. कृष्णराज चौधरी सर्वहारीले ’थारू समुदायको हक अधिकारका लागि नेपाली कांग्रेसको भूमिका’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । थारू समन्वय शाखा प्रमुख गंगाराम थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य अञ्जना पाण्डे, जिल्ला सहसचिव बिनोद थारू, महाधिबेशन प्रतिनिधिद्वय लाहुराम थारू र संगिता थारू, प्रदेश (ख) का सभापति बलराम शर्मा, थारू नेता जागेश्वर चौधरी, नेपाली काँग्रेस राप्तीसोनारी गाउँपालिका सचिव सन्तोष चौधरी लगायत थारूका अगुवा नेता तथा कार्यकर्ताहरू अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here