२७ फागुन, नेपालगन्ज । अवधी पत्रकार संघ नेपाल बाँकेको १४औं वार्षिक साधारणसभा तथा जिल्ला अधिबेशन शनिवार सम्पन्न भएको छ ।
पर्यटकिय क्षेत्र बाँके डुडुवा ५ स्थित पार्कमा आयोजित सभाको उद्घाटन गर्दै लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अवध क्षेत्रको रुपमा रहेको लुम्विनी सरकारले अवधी भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धनमा विशेष पहल गर्ने बताए । उनले अवध क्षेत्रको विकास त्यसमा पनि अवधी भाषी पत्रकारहरुको विकास, क्षमता अभिवृद्धि, महिला पत्रकारको सहभागिता र संघको संस्थागत विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गर्दै स्थानीयस्तरमा रहेका पर्यटकिय स्थलहरुको पहिचान र संवद्र्धनमा प्रदेश सरकारले पहल गर्र्ने बताए ।
प्रदेश सांसद आदेश अग्रवालले अवधी भाषासंग प्रेम राख्ने व्यक्तिबाट मात्र अवधी कला संस्कृतिको विकास हुने भन्दै अवधीको विकासका लागि हामी सबै आफैबाट जुटेर लाग्नुपर्नेमा जोड दिए । उनले आफुहरु अवधी भाषामा सांसद पदको सपथ लिएको स्मरण गर्दै अवध क्षेत्रको विकासका लागि सबैको सहयोग र सहकार्यसंगै सरकारीस्तरबाट पहल गर्ने बताए ।
संघका सल्लाहकार वरिष्ठ पत्रकार विजय बर्माले अवध क्षेत्रको प्राचिनकालदेखिको सम्वन्ध रहेकोले यसको संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा सबै सरोकारवाला जुटनुपर्ने आग्रह गर्दै पछिल्लो समय अवधीलाई विभाजन गर्न खाजिएकाले अवधीको विकासका लागि सरकार गम्भिर बन्नुपर्नेमा जोड दिए ।
अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले देशैभर अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको संघमा आबद्ध पत्रकारहरुका क्षमता विकाससंग महिलाहरु पत्रकारहरुको ठुलो चुनौती रहेकाले उनीहरुको विकासका लागि सरकार उदासिन भएको भन्दै अवधी पत्रकारहरुको सक्रियतासंगै एकजुट हुन आवश्यक रहेको बताए । उनले संघमार्फत अवधी भाषा, कला र संस्कृतिको विकासका लागि संचारक्षेत्रबाट उल्लेख्य भुमिका निर्वाह गरेकाले यो समुदायले पनि त्यत्तिकै सहयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश सदस्य आरिफ अन्सारीले अवधी भाषी पत्रकारहरुको विकास तथा सहभागिताका लागि महासंघले विशेष आरक्षणलगायतको व्यवस्था गरेको भन्दै अवधी पत्रकारहरुको सक्रियता र सहभागिता बृद्धि गर्नुपर्नेमा जोड दिए ।
अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सुर्यलाल यादवले अवधी भाषाको विकास र संरक्षणका लागि दुईदशक अघिको सपना साकार बनाउन संस्था स्थापना गरिएको भन्दै पछिल्लो समय अवधीको विकासमा सरकारले खासै ध्यान नदिएकोप्रति दुख व्यक्त गरे ।
सभामा लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादव र सांसद आदेश अग्रवाललाई सम्मान गरिएको थियो । त्यस अवसरमा अवधी पत्रकार संघ बाँकेका पुर्व जिल्ला अध्यक्षद्धय चन्दे्रश्वरराज त्रिपाठी र नन्दलाल साहुलाई सम्मान गरिएको थियो । सभामा संघका जग्गादाता माधवराम बर्मालाई पनि सम्मान गरिएको थियो ।
प्रहलाद विश्वकर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन
अवधी पत्रकार संघ बाँकेको शनिबार सम्पन्न जिल्ला अधिबेशनले पत्रकार प्रहलाद विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विश्वकर्मा नेपालगन्जस्थित जी नेपाल फोरके टेलिभिजन र रेडक्रस पत्रिकामा आबद्ध छन् ।
संघको उपाध्यक्षमा सुनिता बर्मा, सचिवमा रमेशकुमार यादव, सहसचिवमा रुवी साई, कोषाध्यक्षमा अशफाक संघर्ष चयन भएका छन् । यसैगरि सदस्यहरुमा सलामत अली शेष, समिर अलि, निलम शर्मा, प्रिति पटेल, सुजल त्रिपाठी, मो. शादाब राईनी चयन भएको निर्वाचन समितिका संयोजक अधिबक्ता विश्वजित तिवारीले बताएका छन् ।