१७ फागुन, नेपालगञ्ज । किशोरीसँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत किशोरीहरुलाई आत्म सुरक्षा सम्बन्धी तालिम बुधबारदेखि खजुरा गाउँपालिकाको मिनिपार्कमा सुरु भएको छ ।
किशोरीहरुलाई परिआउँदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसाबारे चेतना जगाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी बच्न सकिन्छ, आफ्नो क्षमता आफूले कसरी पहिचान गर्ने हिंसाका किसिमहरु के–के हुन ? आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अवस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगायतका बारेमा प्रशिक्षण दिईनेछ ।
तालिममा खजुरा गाउँपालिकाको ८ वटै वडाबाट ५१ जना किशोरीहरुको सहभागिता रहेको छ । खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखाले कार्यक्रम संयोजन गरेको थियो । खजुरा गाउँ पालिका उपाध्यक्ष मन्जु मल्लको अध्यक्षता तथा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा भएको थियो ।
तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिकले आत्मरक्षा कला महिला तथा किशोरीका लागि मात्र नभएर आम नागरिकको रक्षामा महत्वपूर्ण भएको बताए । आफूसँग भएको सिप र स्रोत साधनको प्रयोगमा आफ्नो सुरक्षा आफै गर्न सक्ने कला आत्मरक्षा कला भएकाले यसको महत्वलाई सबैले बुझ्नु पर्ने उनको भनाइ छ ।
सो अवसरमा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय नृपराज उपाध्याय, खजुरा गाउँपालिका सामाजिक बिकास समिति संयोजक कृष्ण कुमारी पोख्रेल महिला तथा बालबालिका शाखा प्रमुख सुशिला न्यौपाने लगायतको उपस्थिति रहेको थियो । किशोरीहरुलाई आत्मसुरक्षा सम्बन्धी तालिम ६ दिनसम्म संचालन हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here