२१ माघ ,नेपालगञ्ज । बाँकेको नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल आस्ताना ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा प्रत्येक वर्ष झै यस वर्षपनि उर्स (धार्मिक मेला) सुरु भएको छ ।
प्रत्येक बर्ष माघ महिनामा मजार विकास समितिले प्रसिद्ध बाबा आस्ताना ए हजरत खलीफा नूर अहमद शाहकोे उर्स धुमधामको साथ मनाउँदै आएको छ ।
माघ २० गतेदेखि सुरु भएको उर्समा नेपाल सहित छिमेकी मुलुक भारतका लाखौ धार्मिक श्रद्धालु (जाईरीन)हरुको सहभागिता रहेको छ ।
त्यसैगरी, उर्सको अवसरमा रातिको समयमा जल्सा (धार्मिक प्रवचन) हुदै आएको छ भने भाकल गरेकाहरुले दैनिक रुपमा बाबाको मजारमा फातिहा, नियाज, तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् ।
नेपालगञ्जदेखि करिव ४७ किलो मिटर पुर्वमा अवस्थित नरैनापुर गाउँपालिका–२ स्थित आस्ताना ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा लागेको उर्से पाक औलया–ऐ केरामको पहिलो दिन लुम्बिनी प्रदेशकि मन्त्री कृष्ण केसी नमूना र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले संयुक्त रुपमा बाबाको मजारमा चादर चढाउँदै उर्सको उद्घाटन गरेको डा.वकार शाहले जानकारी दिए ।
मन्त्री नमूनाले माजार शरीफलाई धार्मिक स्थलको रुपमा विकास गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरिन् । मजारलाई व्यस्थित बनाएको खण्डमा बाँकेको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउदै मन्त्री नमूनाले मजार शरीफमा खानेपानी, शौचालय, तथा धर्मशालाको काम प्रदेश सरकारबाट गराउने उद्घोष गरेकी थिइन् ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष एंव मेलाका संरक्षक इस्तियाक अहमद शाहले मजार शरीफ नेपालकै धार्मिक पर्यटकीय क्षेत्र मध्येका एक रहेको बताउँदै मजार शरीफको विकास संघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारले लगानी गर्नुपर्ने
बताए ।
नरैनापुर १ का अध्यक्ष इसाक जोलाहले भने,‘ आस्ताना ए हजरत खलीफा नूर अहमद शाह मजार बाँकेवासी वा प्रदेशवासीको मात्रै होईन । यो सम्पूर्ण नेपालवासीको गौरव हो त्यसकारण यसको संरक्षण र प्रबद्र्धन गर्न सकेको खण्डमा मुलुकको आर्थिक तथा पर्यटन विकासमा ठूलो टेवा पुग्छ ।’
उर्समा सहभागी भएका मन्त्री नमूना, तथा राजनीतिकर्मीहरुलाई मजार विकास समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । उर्सलाई भव्य बनाउन नेपाल तथा भारतका प्रसिद्ध धार्मिक गुरुहरुलाई प्रवचनको लागि आमन्त्रण गरिएको मजार विकास समितिका संरक्षक रिजवान अहमद शाहले बताए ।
उर्समा सहभागी भएका श्रद्धालुहरुको खानेपानी, आवास तथा स्वास्थ्य उपचारको लागि विभिन्न शिविरहरु सञ्चालन गरिएको समितिका सदस्य गुफरान अहमद शाहले बताए ।
सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र करिव दुई सय स्वयमसेवक परिचालन गरिएको रोज अलि जोलाहले जानकारी दिए । सांस्कृतिक, धार्मिक तथा सामाजिक सदभाव कायम राख्नका लागि यो उर्सको महत्वपूर्ण योगदान रहेको स्थानीयहरु बताउँछन् ।
मेलामा नरैनापुर २ का अध्यक्ष एंव मेलाका संरक्षक मसूद अहमद शाह लगायतको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here