दुर्गा भवानीको मूर्तिहरुको अवलोकन गर्न पुगेका अध्यक्ष शाहलाई भव्य सम्मान
१७ असोज, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले दसैँ, मोहम्मद डे, तिहार, नेपाल सम्वत् र छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
नरैनापुरको ६ वटै वडामा राखिएको दुर्गा भवानीका मूर्तिहरुको आईतबार राती अवलोकन गरी नरैनापुरको वडा नं. ३ मा आयोजित विशाल पूजाअर्चना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नरैनापुरबासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नु भएको थियो ।
नरैनापुरका अध्यक्ष शाहले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर पालिका नरैनापुरमा विभिन्न पर्वका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन्, यी पहिचानहरुलाई स्थापित गराई राख्न समुदायमा धार्मिक सह अस्तित्व, सदभाव र भाईचाराको सम्बन्ध कायम राख्दै संस्कृतिको संरक्षणका लागि नयाँ पुस्ताले विशेष भूमिका खेल्नु पर्ने बताउनु भयो ।
विजयादशमीले नरैनापुरमा बसोबास गर्ने भिन्न–भिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् आपसी भातृत्व कायम गर्न समेत सफल रहोस् भनि अध्यक्ष शाहले कामना गर्नु भएको थियो ।
अध्यक्ष शाहसँगै नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा लगायतको टोलीले वडाको बिभिन्न टोलमा स्थापना गरिएको मूर्तिको अवलोकन गरेको थियो ।
मूर्तिको अवलोकन गर्न पुग्नु भएका नरैनापुर गाउँपालिका अध्यक्ष शाहलाई स्थानीयहरुले भव्य स्वागत गर्दै सम्मान समेत गरेका थिए । नरैनापुर २ का अध्यक्ष मसूद अहमद शाहले दशँैको शुभ कामना दिदै उहाँले नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवम् सामाजिक उपलब्धिको जगेर्ना गर्दै समुन्नत नरैनापुर निर्माणको अभियानमा अघि बढ्न सबैलाई सकारात्मक सोच राखी सतविचार र सतव्यवहारमा अग्रसर हुन पनि आग्रह गर्नु भएको थियो ।
वडा नंं ३ का अध्यक्ष अजय मिश्राले नरैनापुर धार्मिक रुपमा निकै संवेदनशील ठाउँको रुपमा परिचित रहे पनि पछिल्लो समयमा सदभावको नमूना बनेको बताउदै उहाँले नरैनापुरमा बसोबास गर्ने सबै धर्मका आस्थावानहरु मिलेर एक आपसमा पर्व मनाउने गरेको बताउनु भयो । अध्यक्ष मिश्राले दशैँ पर्ब शान्त, सभ्य तथा मर्यादित ढंगले मनाउन अनुरोध गर्दै दशैँको शुभ कामना दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here