४ असोज, नेपालगञ्ज । ताजिया विसर्जनसँगै इस्लाम धर्मावलम्बीहरुको चहेल्लम पर्व मंगलवार सम्पन्न भएको छ ।
इस्लाम धर्मावलम्बीहरुको मोहर्रम पर्व सम्पन्न भएको ४०औं दिनपछि मनाइने चहेल्लम पर्व मंगलवार सम्पन्न भएको हो । मंगलवार दिउँसो करीब ३ बजे निस्केको हुसैनी जुलुस, दुलदुल, आलम, ढोल, ताशा, ताजिया, कर्बलाको झाँकी, लठ्ठीकला, आगोको कला प्रदर्शनसहितको जुलुस सदरलाईनदेखि शुरु भई त्रिभुवन चोक, त्रिवेणी मोड, गौसिया मस्जिद हुँदै फुल्टेक्रास्थित कर्बलामा परम्परा अनुसार ताजिया सेलाई (विसर्जन गरि) चहेल्लम पर्व विधिपूर्वक सम्पन्न भएको हो । सोही अवसरमा चहेल्लम पर्व शान्तिपूर्ण तथा व्यवस्थित रुपले सम्पन्न गराउन अहम भूमिका निर्वाह गर्ने मुस्लिम अगुवा मो. हारुन हल्वाई लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।
यसअघि सोमवार राती नगरको केही स्थानमा ताजिया स्थापित गरिएको थियो । साथै हुसैनी जुलुस, आलम, ताजिया तथा कर्बलाको झाँकी निकाली नगर परिक्रमा पछि त्रिभुवन चोकमा भेला भई हुसैनी जुलुस, कर्बलाको झाँकी तथा आलमको मिलान भएको थियो । इराकस्थित कर्बलामा युद्धको दौरान शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा हरेक वर्ष हुसैनी जुलुस सहित चहेल्लम पर्व मनाइँदै आइएको छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाती हजरत इमाम हुसैन सहित उहाँका परिवार सदस्य आफन्त र उहाँका साथी लगायतकाहरुले शताब्दीयांै अघि ईराकको कर्बलामा शहादत प्राप्त गरेको स्मरणमा मोहर्रम तथा ४० दिनपछि चहल्लम पर्व मनाइ“दै आइएको छ । चहल्लम पर्वमा शान्ति सुरक्षा कायम गर्न बाँके प्रहरीले निकै सक्रियतापूर्वक भूमिका निर्वाह गरेको थियो ।