३० भाद्र, नेपालगञ्ज । बाँके युनेस्को क्लबले कतार च्यारिटिको सहयोगमा नेपालगञ्जको एक विद्यालयमा विभिन्न अतिरिक्त क्रियाक्लापको आयोजना गरेर राष्ट्रिय बाल दिवस २०७९ भव्य रुपमा मनाएको छ ।
नेपालगञ्ज ६ मा रहेको शाईनिंग फ्युचर एकेडेमी नामक विद्यालयमा क्लबद्वारा मनाइएको बाल दिवसमा सो विद्यालयका विद्यार्थीहरुविच बालअधिकारलाई विषय बनाएर हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, लेखन प्रतियोगिता र नात प्रतियोगिताको आयोजना गरिएको थियो ।
अधिकांश अनाथ र अति विपन्न परिवारका बालबालिकाहरु अध्ययन गर्ने सो विद्यालयमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा अनाथ बालिका तमन्ना शेष नेतृत्वको टोली प्रथम, अनाथ बालिका कोहिनुर खान नेतृत्वको टोली द्वितिय र अनाथ बालिका रेशमा खान नेतृत्वको टोलीले तृतिय स्थान हासिल गरेको छ ।
सोही प्रकारले लेखन प्रतियोगितामा कक्षा दुईका अब्दुल लतिफ खान प्रथम, कक्षा ३ का गुलशन खान द्वितिय र कक्षा ३ कै सुवालेह खान तृतिय भएका थिए ।
यसैगरि वक्तृत्वकला प्रतियोगितामा कक्षा ७ का सिमा खान प्रथम, कक्षा ७ कै अनाथ बालिका तमन्ना शेष द्वितिय र कक्षा ७ कै साहिल खान तृतिय भएका थिए ।
सोही प्रकारले नातिया मुकाबिलामा कक्षा ४ का कोहिनुर खान प्रथम, कक्षा ३ का सैयद अलि बेहना द्वितिय र कक्षा ३ कै अब्दुल सत्तार द्वितिय भएका थिए ।
शाईनिंग फ्युचर एकेडेमीका अध्यक्ष ओबेदुर रहमान खानको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, क्लबका संस्थापक तथा प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, शाईनिंग फ्युचर एकेडेमीका कार्यकारी निर्देशक जैद अहमद खान, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, विद्यालयका प्रधानाध्यापक अब्दुल गफ्फार खान र क्लबका कार्यक्रम अधिकृत गुलाम गौस र फिल्ड सुपरवाइजर विशेष गुप्ताले विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्ने अतिथिहरुले बालबालिकाका लागि बालअधिकार र बाल संरक्षण अतिनै महत्वपूर्ण रहेको कुरामा जोड दिएका थिए । कार्यक्रममा ठुलो संख्यामा बालबालिकाको सहभागिता रहेको थियो ।









