२२ भाद्र, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् ।
नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले सहमतीबाट संघको नयाँ नेतृत्व चयन गर्न समेत आग्रह गरेका छन् ।
काठमाडौंको बबरमहलस्थित कार्की ब्याङक्वेटमा बुधबारदेखि सुरु भएको भलिबल संघको साधारणसभाको उद्घाटन गर्दै मन्त्री अथकले खेल क्षेत्रको संस्थागत विकासका लागि स्थापना भएका खेल संघहरु खेलकुदमै केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् ।
खेल क्षेत्रको संस्थागत बिकासको अभिभारा बोकेका खेलसंघमा देखिएको राजनैतिक विचलन तर्फ ईगित गर्दै मन्त्री अथकले भने, ‘तपाईहरु खेलकुदमा केन्द्रित हुनुहोस, राजनीति गर्ने त विभिन्न पार्टी छदैंछन् नि !’
नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रुपमा मात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमा चुनौति थपिएको बताउँदै मन्त्री अथकले राज्यले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । पछिल्लो समय खेलमैत्री वातावरण सिर्जना गर्न सरकार लागि परेको बताउँदै मन्त्री अथकले सिंहदरबारलाई खेलकुद बुझाउन आवश्यक रहेको जिकिर गरे ।
नेपालमा भलिबल खेलको राम्रो सम्भावना देखिएकाले नै राज्यले भलिबललाई राष्ट्रिय खेलका रुपमा सुचिकृत गरेको उल्लेख गर्दै मन्त्री अथकले भलिबल खेलको समग्र विकासमा सरकार लागिपरेको बताए । खेललाई उद्योगका रुपमा समेत विकास गर्नुपर्ने उनको भनाई थियो ।
खेलाडीहरुको मनोबल बढाउन खेलकुद मन्त्रालयले ऐनमै पुरस्कार तथा सम्मानको ब्यवस्था गरेको र मन्त्रीपरिषदबाट समेत अनुमोदन भइसकेको जानकारी गराउँदै मन्त्री अथकले अब कुनै पनि खेलाडीको मिहेनत खेर जान नदिने प्रतिवद्धता समेत जनाए । राज्यको प्रतिनिधत्व गर्दैै बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सहजताकालागि विशेष पासपोर्टको ब्यवस्था गर्नेबारे समेत छलफल भइरहेको उनको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टंकलाल घिसिङ लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here