२४ श्रावण, नेपालगञ्ज । कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रम मंगलवार ताजिया विसर्जनसँगै सम्पन्न भएको छ ।
गत आइतवारदेखि शुरु भएको मोहर्रम पर्व अन्तर्गत धार्मिक प्रवचन, मेहँदी जुलुस प्रदर्शन, आलम र मातम जुलुस, आगोको मातम, भाकल राखी पायक भर्ने, ताजियादारी र विभिन्न किसिमको झाँकीको आयोजन गरी सोमवार राती जाग्राम बसेर मंगलवार सो ताजिया फुल्टेक्राको कर्बला मैदानमा विसर्जन गरिएको छ ।
नगरको विभिन्न स्थानमा स्थापित गरिएका ताजिया एकत्रित भइ बाजागाजा तथा विभिन्न झाँकी सहितको जुलुस कर्बला मैदान पुगेको थियो ।
जुलुसकै क्रममा बाँकेका प्रखुम जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुलाई हुसैनी पगरी लगाएर सम्मान गरिएको थियो ।
यस्तै धार्मिक सद्भाव समितिका विभिन्न व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।
मोहर्रम पर्व शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन अहम भूमिका खेलेवापत उनीहरुलाई सम्मानित गरिएको हो ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाती हजरत इमाम हुसैन सहित उहाँका परिवार सदस्य आफन्त र उहाँका साथी लगायतकाहरुको शताब्दीयांै अघि ईराकको कर्बलामा शहादत प्राप्त गरेको स्मरणमा मोहर्रम पर्व मनाइ“दै आइएको छ ।
यो पर्व लगातार दस दिनसम्म विभिन्न कार्यक्रम गरि मनाइने गरिन्छ ।
मोहर्रम पर्वमा मुस्लिम समुदायका सुन्नी समुदाय नयाँ वर्षको अवसरमा खुशियालीका साथ मनाउने गर्छन् भने मुस्लिम समुदायका शियाहरु यसलाई दुःखको रुपमा मनाउँदै आएका छन् ।
नेपालगञ्जमा बसोबास गर्ने सबै समुदायका मानिसहरुले यो पर्व श्रद्धाभक्तिपूर्वक मनाउँदै आएका छन् ।
शताब्दीयौं अघि ईराकमा यजीद शासकको सेनाले हजरत इमाम हुसैन सहित उनीको परिवार सदस्य, आफन्त र अन्य कैयन साथीहरुको नृशंसतापूर्वक नरसंहार गरेका थिए ।
विश्व भरी नै विभिन्न तरिकाले मनाइने गरिएको यो मोहर्रम पर्व नेपालगञ्जमा पनि शताब्दीयौंदेखि मनाइँदै आएको छ । मोहर्रम पर्वको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले सम्पूर्ण विद्यालयहरुमा विदा दिएको थियो भने नरैनापुर र जानकी गाउँपालिकाले मंगलवार सार्वजनिक विदा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here