९ असार, नेपालगञ्ज । आफूलाई शिक्षा दिक्षा दिने गुरु, गुरुआमा, दाइ, दिदी लगायत सबैप्रति श्रद्धा र सम्मान प्रकट गरि बुधवार गुरु पूर्णिमा मनाइएको छ ।
गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् बताउँछन्।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।
गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं संघ–संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।
अषाढशुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा भाव प्रकट गरी मनाउने गरिन्छ । यस दिन गुरुका रूपमा ज्ञानको पूजा गर्ने गरिन्छ । गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरु पूर्णिमा मनाउने गरिन्छ ।
ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय । ॐ शान्तिः शान्तिः शान्तिः ।। अर्थात् “हे भगवान् ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देऊ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ ।“ यो संसारमा शान्ति होस्, आदि दैविक शान्ति होस्, आदि भौतिक शान्ति होस् र आध्यात्मिक शान्ति होस् ।
उपनिषदबाट साभार गरिएको उपरोक्त मन्त्रको अर्थले नै ज्ञान रुपी उज्यालो र त्यसको महत्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसँग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भए पनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठुलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।
“गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः“ अर्थात् “गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान् शंकर हुन्, गुरु नै हुन् साक्षात् परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।“ आफूलाई पढाउने सर, मिस, दाइ, दिदी लगायत सबैलाई एकफेर नमन गरौँ, सम्झना गरौँ । असल गुरु र असल शिष्य दुवै बन्न सकौं गुरु पूर्णिमाले यही सन्देश दिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here