नेपालगन्ज– आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन कार्यालय बाँकेले तयारी तीव्र गतिमा अगाडि बढाएको छ । फागुनको अन्तिम सातातिर वडा स्तरमा मतदाता नामावलीलाई अन्तिम रुप दिने तयारी भैरहेको छ । निर्वाचन कार्यालय बाँकेका अनुसार फागुनको १९ देखी २४ गते सम्म त्रुटी सच्याउनका लागि वडा स्तरमा मतदाता नामावली पठाउने तयारी भैरहेको छ । त्यसअवधिमा फाराम भर्ने क्रममा भएका केहि त्रुटी सच्याउने काम गरिने बाँके जिल्ला निर्वाचन अधिकारी खुम प्रसाद सुवेदीले बताए ।

वडा स्तरमा गएर नाम सुधार गरेपछि केन्द्रमा त्यसको विवरण पठाउने तयारी भएको निर्वाचन अधिकारीले बताए । उनले भने,‘केन्द्रको निर्देशन अनुसार हामीले काम योजनावद्ध रुपमा गरिरहेका छौं । अब वडा स्तरमा गएर मतदाता नामावलीमा भएका केहि गल्ती भए सच्याएर केन्द्रमा पठाउने तयारी भैरहेको छ । त्यसको तयारीमा हाम्रो टिम जुटिसकेको छ ।’ आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयारी गरिरहेको छ । जस अनुसार बाँकेको १ सय ३६ स्थानमा मतदान स्थल तोकिसकिएको छ ।

बाँकेमा ४२ हजार नयाँ मतदाताले निर्वाचन कार्यालयमा गएर फोटो सहितको मतदाता नामावली फाराम भरेका थिए । बाँकेको रानीतलाउ नजिकै रहेको निर्वाचन कार्यालयमा साउनको महिना देखी माघ २४ गते सम्म फाराम भर्ने समय दिइएको थियो । फोटो सहितको फाराम भर्ने क्रममा करिब ११ सयको नाम दोहोरिएको निर्वाचन अधिकारीले बताए । राष्ट्रिय जनगणना २०७८ अनुसार बाँके जिल्लाको जनसंख्या ६ लाख ३ हजार ३ सय ९३ पुगेको छ । यसअघि २०६८ मा जिल्लाको जनसंख्या चार लाख ९१ हजार तीन सय १३ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here