७ फागुन, नेपालगञ्ज । विभिन्न कार्यक्रमको आयोजन गरि आज ७४औं प्रजातन्त्र दिवस देशभर हर्षाेल्लासपूर्वक मनाइँदै छ ।
२००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस विगत दशकौैंदेखि मनाइँदै आइएको छ ।
फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकले दिवसका अवसर पारेर बिसं २०८० साल फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
सरकारले घरघरमा दिप प्रज्वलनका लागि समेत अनुरोध गरेको छ । प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न का साथै सबै प्रकारका सञ्चार गृहहरुमा प्रजातन्त्र सम्बन्धी आयाम झल्कने सामाग्री उजागर गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ–संस्थाका कार्यालयका छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्ज्वलन गरिनेछ ।
यस्तै सबै जिल्लाहरूमा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जिल्लास्तरमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने सरकारको निर्णय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here