नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी सकिएको छ । लक्ष्मी माध्यमिक विद्यालय राप्ती सोनारी–२, मदुईको आयोजना व्यवस्थापनमा हुन गइरहेको १४ औं राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप चौथौं खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको विद्यालयका सहायक प्रध्यानाध्यापक गणेस वलिले जानकारी दिए ।

प्रतियोगिताको उदघाटन राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गर्ने आयोजकले जनाएको छ । फागुन १८ देखि २१ गतेसम्म रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन अघि केही प्रतियोगिता हुने सहायक प्रध्यानाध्यापक वलीले जनाए । उद्घाटन अघि कक्षा १ देखि ३ र ४ देखि ५ सम्मकालाई गणित दौड गराइने भएको हो । त्यस्तै, आधारभूत ६ देखि ८ सम्मकालाई १००,२०० र ४०० मिटरको दौड गराइने छ । उद्घाटनपछि भने माध्यमिक तहका दौडलगायत अन्य खेल प्रतियोगिता हुने छ । टाढाका विद्यार्थीहरुका लागि विद्यालयले बसाइँको व्यवस्था समेत गरेको जनाएको छ । टाढाका विद्यार्थीहरु प्रतियोगिता सुरु हुने भन्दा अघिल्लो दिन मंगलबार (आज) नै आइपुगेका छन् ।

रनिङ शिल्ड प्रतियोगितामा राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक र संस्थागत गरी करिब ७२ वटा विद्यालयले सहभागिता जनाउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here