१५ कार्तिक, नेपालगञ्ज । धन धान्य तथा सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी श्रद्धा भक्तिपूर्वक आज लक्ष्मीपूजा पर्व मनाइँदै छ ।
आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री–सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ केराका खाँबाहरू अर्थात् थम्बाहरूलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्वपूर्ण लिइन्छ । विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभ कार्यमा अनिवार्य जसो केराका एक जोर खम्बाहरूलाई मुल द्वारमा राख्ने गरिन्छ ।
हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रङ्ग को पुरापुरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरूले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारिएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेल रोटी, अर्सा अनि अनर्साको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिर झीर गरिरहेको छुरछुरे (झिर झीरे), आकाश छुँला जस्तो गरी उज्यालोको फोहोरा छर्ने फूल झरी लगायतका रौनकहरू आजको दिनको विशिष्टता हो ।
आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार ’गौ माता’को सेवा गरिन्छ । वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाईको स्थान एकदमै उच्च छ । हिन्दु धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रूपमा हेर्ने गाइका हरेक कुराहरू पूजनयोग्य मानिन्छ । कुनै चोखो नितो काम गर्दा यी नै गौ माताको गौँत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ । पारम्परिक नेपाली माटोका घरहरू एकाबिहानै गाइको गोबर र माटो मिसाएर दैलो, चुल्होलाई लिप्ने चलन छ । गाईको दूधको महिमा त अपरम्पारै छ ।
आजको साँझ विभिन्न रङ्गहरू प्रयोग गर्दै आँगनमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चे, चारकुने, त्रिभुजाकार स्वरूपमा तयार पारिन्छ अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान् पृथ्वी लोकमा आउने र आशिष् दिएर जाने जनउक्ति पनि छ, त्यसै कारणले आज घर अगाडीको तुलसी मोठ या आँगनको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारूपी रङ्गिन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यी नै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here