१४ कार्तिक, नेपालगञ्ज । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात शुभदीपावली अन्तर्गत आज काग तिहार तथा धनवन्तरी जयन्ती मनाइँदै छ ।
कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ ।
आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ ।
आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ ।
आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरि दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।
सेल रोटीको मिठास अनि दियोको प्रकाशका साथै देउसी अनि भैलोका सङ्गीतहरू गुञ्जायमान यस पर्वको हर्षोल्लास अद्भुत छ, काग कुकुर, गाई, गोरु र दाजुभाइको पूजा क्रमैसँग यमपञ्चकका पाँच दिनमा गरिने यस तिहार पर्व मनाइनेका बारेमा धेरै किबंदन्तीहरु पाइन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here