११ पौष, नेपालगञ्ज । प्रहरीले अवैध भन्सार छलिको सामान बरामद गरेको छ ।
नेपालगञ्ज उ.म.न.पा.१५ जमुनाह स्थित ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा मंगलवार भारतबाट नेपालतर्फ अवैध रूपमा चोरी पैठारी गरी ल्याएको सामान बरामद गरेको हो ।
बरामद गरिएको सामानमा जाडो मौसमका कपडा कुर्ता सुरूवाल ८४ थान जसको मूल्य करिब ४६ हजार २ सय रहेको छ ।
यस्तै ने.ग.उ.म.न.पा. १० गणेशमान चोक नजिकबाट मोटरसाईकलको पार्टपुर्जा करिब ९ हजार ९ सय गरि जम्मा रु. ५६ हजार १ सय बराबरको सामान बरामद गरी आवश्य कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्याल्य, बाँकेले जनाएको छ ।
यसैगरि बुधवार बाँकेको डुडुवा गा.पा.६ बकौली स्थित गाउँमा काठ चोरी तस्करी भईरहेको भन्ने गोप्य सूचनाको आधारमा ई.प्र.का. हिरमिनिया बाँके र जिल्ला वन कार्यालय बाँकेबाट खटेको संयुक्त टोलीले उक्त स्थानमा गई बुझ्दा ५ फिट लम्बाई ६९ ईन्च गोलाई भएको ११.९१ क्युफिट साल जातको काठ बरामद गरेको छ ।
करिब ४६ हजार मूल्य बराबरको बरामद गरिएको सो काठ आबश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय नेपालगञ्ज बाँकेमा पठाएको बाँके प्रहरीले जनाएको छ ।