नेपालग्नज– नेपालगन्जमा शनिबार १०७ पिन्ट रक्त संकलन गरिएको छ । साहू समाज जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिले उक्त रगत संकलन गरेको हो । रक्तदान कार्यक्रममा रक्तदाताको मनोबल बढाउने उद्देश्यले नेपालकै धेरै रक्तदान गर्ने दोस्रो नेपालगन्जवासी गोपीनाथ वैश्यलाई कार्यक्रमको प्रमुख अतिथि बनाइएको थियो । १५६ पटक रक्तदान गरिसकेका नेपालगन्ज निवासी वैश्यलाई सोही कार्यक्रममा सम्मान समेत गरिएको छ । रक्तदान जीवन दान भन्ने कुरालाई मनन गरेर तीन/तीन महिनामा नियमित रक्तदान गर्दै आएका वैश्यलाई सम्मान गर्न पाउँदा साहू समाज गौरवान्वित भएको रक्तदान कार्यक्रमका संयोजक प्रदीप साहले बताए ।

आफ्ना परिवारका सबै सदस्यले ७ पटक भन्दा बढी रक्तदान गरेको बताउँदै वैश्यले जीवित रहुन्जेल समस्यामा परेका व्यक्तिलाई रक्तदान गरेर मानवीय सेवा गर्ने मनसायले नियमित रुपमा रक्तदान गरिरहने बताए । रक्तदान गर्दा छुट्टै किसिमको आन्नदानुभूति हुने गर्छ उनलाई ।

‘मान्छे खुसी हुन ठूलो काम गर्नु पर्दैन आफू र समाजलाई खुसी बनाउन ससानो काम गरे पनि हुन्छ,’ औषधी व्यवसायी संघका बसन्त शर्माले बताए । विभिन्न मठमन्दिरमा दान गर्न सकिने अवस्था नभए रक्तदान गर्न सकिन्छ । सबै भन्दा ठूलो दान रक्तदान भएको भन्दै उनले सबैलाई रक्तदान गर्न आह्वान गरे । त्यस्तै औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष अभय बस्नेतले साहू समाजले मानवीय सेवा भाव राखेर आयोजना गरेको रक्तदानको सिको सबैले गर्न जरुरी रहेको बताए । कुनै पनि दुई अलग चिजलाई कसै ठाउँमा मिक्स गरे छुट्याउन सकिने भएता पनि रगतलाई एकै ठाउँ मिक्स गरे छुट्याउन नसकिने भएकाले सबै धर्म संस्कृति र जातजातिका व्यक्तिलाई एकता बद्ध गर्ने कार्य रक्त दान भएको बस्नेतले बताए ।

अहिलेको विषम परिस्थितिमा मानिस अस्ताल जान डराइरहेका छन् । रगत अभावमा मानिस छटपट्याइरहेका छन् । रगतको हाहाकार हुँदा धेरै मानिसले मृत्यु वरण गर्नु पर्‍यो त्यसैले मानवीय सेवालाई आत्मसात गरी देशमा भएका विभिन्न जातजातिका संगठनले रक्तदान कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यले बताए ।

कोरोना महामारीको विषम परिस्थितिमा रगत अभावका कारण कसैको उपचारमा समस्या नहोस् एवम् रगतकै कारण मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्ले रक्त दान कार्यक्रमको आयोजना गरेर रक्त संकलन गरिएको संयोजक प्रदीप शाहले बताएका छन् । संयोजक शाहले मानवीय सेवा भावले जीवन दान रक्त दान भन्ने कुरालाई मनन गर्दै रक्तदानमा सहभागी सम्पूर्णलाई धन्यवाद दिएका छन् ।

साहू समाजका अध्यक्ष हंसराम साहूको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न धर्म, जातजातिका युवाहरुले स्वस्फूर्त रुपमा सहभागिता जनाएका थिए ।

समाजका सचिव बाबुराम र सहसचिव प्रदीप शाहले सञ्चालन गरेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य मञ्जु नेपाली, वडा नम्बर ५ का वडाअध्यक्ष कैफुलवरा जोलाह, वडा नम्बर ६ का वडाअध्यक्ष समिर प्रताप सिंह, वडा नम्बर १३का वडा अध्यक्ष वीरेन्द्रबहादुर शाह, समाज सेवी माधवराम वर्मा, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यलगायतले आआफ्नो धारणा राखेका थिए ।  

यस अघिको शीर्षकमा १५६ पटक रक्तदान गर्ने गोपीनाथ हुनु पर्नेमा अन्यथा भएकोले सच्चाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here