२९ असोज, नेपालगञ्ज । जनता समाजवादी पार्टीका नेता एवं बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले ‘सपना बाँड्नेहरू’ र विकास ल्याउने उम्मेदवारहरू छुट्याएर मतदाता गर्न आह्वान गरेका छन् ।
बाँकेको निर्वाचनमा यसपालि जनतामा सपना अनि धर्म, सम्प्रदायको नाममा विभाजन निम्त्याउने र विकास ल्याउनेहरू बीच प्रतिष्पर्धा रहेको भन्दै आम मतदाताले निकै सचेत भएर मतदान गर्नुपर्ने अवस्था आएको उनले बताए ।
निवर्तमान भौतिक योजना तथा यातायात मन्त्री रहेका उनले बाँकेको समग्र विकासका र त्यसको निरन्तरताका लागि फेरि एक पटक जसपाका उम्मेदवारहरूलाई मौका दिन पनि आफ्ना मतदाताहरूलाई आग्रह गरे ।
बाँकेका विभिन्न वडाहरूमा पार्टीले चुनाव प्रचार प्रसारका लागि खोलेका सम्पर्क कार्यालयहरूको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘‘फेरि पनि जनतालाई झुक्याउनका लागि सपना बाँड्ने बेला आएको छ । धर्म र जातजाति अनि सम्रदायको नाममा समाजमा विभाजन ल्याउन खोज्नेहरू धर्मको राजनीति गरिरहेका छन्’ उनले भने ‘‘तर हामी कसैलाई सपना र आश्वासन होइन, हामी काम गरेर देखाउँछौं । सपना होइन, विकासको लहर देखाउँछौं ।’
उम्मेदवार राईले आफ्नो क्षेत्रको विकासमा लागिपर्ने, समाज र समुदायका लागि सधैं साथमा रहने उम्मेदवार छान्न पनि आग्रह गरे ।
‘हामीले पहिलादेखि नै भन्दै आएका छौं कि अब धर्म र सम्प्रदायको नाममा होइन विकासको नाममा राजनीति गरौं’ उनले भने ‘‘समाजमा विभाजन ल्याउन र विखण्डन होइन, विकासका योजना ल्याउन र जनताका लागि काम गर्न प्रतिस्पर्धा गरौं ।’
आफू पटक पटक सांसद र मन्त्री हुँदा बाँकेको मुहारै फेरिनेगरी विकासका योजनाहरू ल्याएको र अझै कतिपय योजनाहरू पूरा गर्न बाँकी रहेको भन्दै त्यसका लागि एकपटक फेरि आफू र आफ्नो समूहलाई मौका दिन पनि आम मतदातासँग अपिल गरे ।
‘धेरै गर्न सकेँ कि सकिनँ त्यो तपाईंहरूको घर आँगनमै छ । बाटोघाटो र पुलपुलेसाहरू हाम्रै वरिपरी छन् । अस्पतालको भवन उठिसकेको छ ।सहरभरिको सबैभन्दा ठूलो हल अब खुल्नेवाला छ । मन्दिर र मस्जिदहरू बनाएका छौं । सडकहरू उज्यालिएका छन्’ उनले भने ‘अझै धेरै काम गर्न बाँकी नै छ । ती काम पूरा गर्नका लागि अनि अरू पनि विकासका योजनाहरू यहाँ ल्याउनका लागि फेरि एकपटक मौका दिनुस् ।तपाईंहरूको विश्वास तोड्नेछैन । म भाग्नेवाला पनि छैन । यहीँ छु । यहीँ हुनेछु । काम गर्न सकिनँ भने त्यसको सजाय भोग्न तयार पनि छु ।’
चुनाव प्रचार प्रसारलाई तीव्रता दिएको जसपाले क्षेत्र नं २ का सबै वडाहरूमा प्रचार प्रसारका लागि कार्यालयहरू खोलिरहेको छ । शनिबार नेपालगन्ज उपमहानगरपालिका( १३ को लालापुरवा, बुलबुलिया, मदनचोकको घसियारन मोहल्ला, १९को कण्ठीपुर, वडा नं १४ को बालेगाउँ, नेपालगन्ज २ मा, वडा नं ९ को बाँकेगाउँ, वडा नं ४ को गणेशपुर, वडा नं ६ फुल्टेक्रा तथा वडा नं १५ को पिप्रहवामा प्रचार प्रसारका लागि सम्पर्क कार्यालयहरू उद्घाटन भएका छन् ।
त्यसअघि शुक्रबारमात्रै बाँके क्षेत्र नं. २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १२ बेलासपुर, वडा नं. ४ घोसीटोल, वडा नं. ७ पिपल चौतारा, वडा नं. ७ एमपी स्कुल र वडा नं. ५ भट्टाटोलमा प्रचारप्रसार सम्पर्क कार्यालयहरू खोलिएका थिए ।
कार्यक्रमहरूमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसलगायतका पार्टी परित्याग गरी २ सय भन्दा धेरै जसपामा प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here