२८ असोज, नेपालगञ्ज । नेपालीहरुको महान पर्व विजया दशमी अर्थात बडा दशैं घटस्थापनासंगै आजदेखि प्रारम्भ हुँदैछ ।
असत्यमाथि सत्य तथा आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको शास्वत सन्देश दिने यस पर्वमा दुर्गा भवानीको विभिन्न ९ रुपको पूजा उपासना गरिन्छ । यस अवधिलाई नौरथा भनिन्छ । सनातन धर्मावलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् ।
विजया दशमीको पहिलो दिन घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । यसै दिन दशैं घरमा शक्ति की अधिष्ठात्री देवी दुर्गाको आव्हान गरी पूजा आरम्भ हुन्छ । बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले जौ रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । देशका विभिन्न भागमा कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य अन्न पनि रोप्ने चलन छ । प्रतिपदाका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
बडा दशैं पर्वकै अवसरमा नगरको विभिन्न स्थानमा दुर्गा प्रतिमाहरु स्थापित गरिने भएका छन् ।
यस्तै नेपालगञ्जको रामलीला मैदानमा हरेक वर्ष झैं यस वर्ष पनि रामलीला नाटकको मञ्चन हुने रामलीला सञ्चालक समिति जानकारी गएको छ ।
यसबीच नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।
असोज २८ गते आइतबार बिहान ११ः२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।
घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।
असोज २९ गते सोमवार झण्डा फेर्ने साइत १०ः१९ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ ।
कात्तिक ४ गते शनिबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमान ढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ८ः२४ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ९ः३५ बजे स्थिरासन गराइन्छ ।
कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ ।
कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरिने साइत छ । विजया दशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । विजयादशमीका दिन बिहान ९ः२ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान १०ः३ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । यस्तै कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ । त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here