राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अन्तरविरोधमा नयाँ ‘ट्वीस्ट’ आएको छ । अब कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीनै अध्यक्षबाट पार्टी चल्न नसक्ने भन्दै दोस्रो पुस्ताका नेताहरुले डा. धवल समशेर राणालाई अध्यक्षका रुपमा अगाडि सारेका छन् । राणाले पनि आफू नेतृत्वका लागि तयार भैसकेको बताएका छन् । 


नेतृत्वमा रहेका पुराना पुस्ताका नेताहरुबाट पार्टीलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन सम्भव नहुने निष्कर्षका साथ धवलसमशेरलगायत दोस्रो पुस्ताका नेताहरु नेतृत्व परिवर्तनको छलफलमा जुटेका छन् । 


आगामी महाधिवशेनबाट राणालाई अध्यक्ष बनाउने गृहकार्यमा दोस्रो पुस्ताका नेताहरु जुटेका हुन् । हाल नेपालगञ्ज उपमहानगरपालिकाको मेयरसमेत रहेका धवलशमशेरले पार्टी नेतृत्वको कार्यशैलीबाट आफू सन्तुष्ट हुन नसकेको रातोपाटीलाई बताए ।


लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभाको उपचुनाव हुँदा मतदान बहिस्कार गरेका राणाले रातोपाटीसँग भने, ‘वागमतीका एमालेका उम्मेदवार बादलजीलाई भोट हालेकोमा पार्टीका कार्यकर्तामा असन्तुष्टि थियो ।’


आगामी महाधिवेशनमा राप्रपाको नेतृत्वमा आफ्नो दावेदारी स्वाभाविकरुपमा नेतृत्वमा रहने र यसमा पार्टीका युवा नेताहरुले साथ र समर्थन गर्ने राणाको दाबी छ । ‘स्वाभाविकरुपमा मेरो दावेदारी रहन्छ । म नेतृत्व सम्हाल्न सक्छु’ राणाले भने, ‘म हरेक किसिमले तयार भइसकेँ, पार्टीको दुईपटक महामन्त्री भइसकेँ, हरेक किसिमले म नेतृत्व सम्हाल्न तयार छु ।’
पार्टीका दुई अध्यक्ष लोहनी र राणालाई अल्छी घोडाको संज्ञा दिँदै सार्वजनिकरुपमै टिकाटिप्पणी गर्ने कमल थापा पनि असफल सिद्ध भइसकेको राणाको आरोप छ ।


राप्रपामा पुराना पुस्ताका नेताहरुलाई बिदा गरेर समय सुहाउँदो नेतृत्व विकास गरी अघि बढ्नुपर्ने भन्दै विघटित प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङदेन र  डा. धवल शमशेर राणासहित नेताहरु लागि परेको बुझिएको छ । यसमा विक्रम पाण्डे, दिलनाथ गिरी, ध्रुवबहादुर प्रधान, दिनेश श्रेष्ठ, राजाराम श्रेष्ठ, राजेन्द्र गुरुङ, सगुन सुन्दर लावती लगायतका नेताहरु सक्रिय बनेर देशव्यापीरुपमा माहोल बनाउन लागिपरेको नेताहरु बताउँछन् ।


राप्रपा नेता दिलनाथ गिरीले युवापुस्तालाई नेतृत्वको अवसर शीर्ष नेताहरुले नै दिनुपर्ने भन्दै अब यसमा ढिलाइ गर्न नहुने बताए । उनले अबको महाधिवेशनमा युवा पुस्ताको बढीभन्दा बढी प्रतिनिधित्व हुनुपर्नेमा पनि जोड दिए ।


यसै सन्दर्भमा पार्टीभित्र नेतृत्व परिवर्तनको लबिङका साथै नयाँ तथा युवा पुस्ताबाट नेतृत्व लिन तयार रहेको घोषणा गर्ने डा धवलशमशेर राणासँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ–


वैकल्पिक राजनीतिक शक्ति बनाउन भनेर तपाईहरुले फेरि पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग पार्टी एकता गर्नुभयो । त्यसयता पार्टीको आन्तरिक गतिविधिप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?


साँच्चै भन्नुपर्दा म सन्तुष्ट छैन । हामी कोही पनि सन्तुष्ट छैनौं । जसरी हामीले पार्टी वैकल्पिक तथा प्रजातान्त्रिक शक्ति बन्छ, जसले गरेर संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्न सकिन्छ भन्ने सोचेर एकता गरेका थियौं, त्यो यथार्थमा परिणत हुन सकेन । हाम्रा नेताहरु आपसमै बाझिरहने र आफैं सानासाना कुरामा झगडा गरिरहन व्यस्त हुँदा पार्टीले गति लिन सकेको छैन ।


पार्टीको अधिवेशन र महाधिवेशन भएको भए पार्टीले गति लिन्थ्यो । महाधिवेशनबाट पार्टी एकल नेतृत्वबाट अगाडि जान्थ्यो । तर, महाधिवेशन पनि नहुने र देशमा चुनावको सम्भावना पनि भइसकेपछि हामीले बहुतै सोचेर कदम चाल्नुपर्नेछ । यथार्थमा अहिलेको परिस्थितिमा हामी धेरै आशावादी हुनसक्ने स्थिति छैन ।


पार्टीका तीन अध्यक्षको कार्यशैलीप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?


एकदमै छैन । सन्तुष्टि भएको भए त पार्टी दौडिरहेको हुन्थ्यो । हामी वैकल्पिक शक्तिका रुपमा स्थापित हुन्थ्यौं । तीनवटै अध्यक्षहरु तीनतिर फर्केका छन्, त्यो लुकाउनुपर्ने कुनै कुरा पनि होइन । यस्ता कुराहरु सार्वजनिकरुपमै पनि आउन लागिसकेका छन् । हामीले त उहाँहरु तीनैजनालाई मिलेर पार्टी हाँक्नुस् भनेका हौँ, उहाँहरु अनुभवी, जान्नेसुन्ने र पढेलेखेका मान्छेहरु हो । उहाँहरुको योग्यतामा कुनै शंका नभएकाले आज पनि हामी उहाँहरुकै साथमा छौं । तर, पार्टी अघि बढ्न नसकेको जगजाहेर छ । योभन्दा बढी मैले के भनौँ ।


पार्टीकै एकजना अध्यक्षले अर्का दुई अध्यक्षलाई ‘अल्छी घोडा’को संज्ञा दिनुभएको छ । कतिपयले पार्टी बन्नुको साटो फेरि विवादतिर गयो भनेर चिन्ता गर्न थालेका छन् नि ?


तपाईँले उठाउनुभएको विषय सही हो । हामी पनि दुःखी छौं । नेताहरुलाई सुरुदेखि नै हामीले एकजुट भएर अघि बढ्न भनेका थियौं । भित्र अलिकति राजनीति हुन्छ, तर बाहिर एकजुट भएर, एक स्वर भएर तपाईँहरु एकजुट रहनुपर्छ है भनेर हामीले धेरैचोटि खबरदारी गरेका पनि हौँ । दुर्भाग्य, यस्तै–यस्तै कारणले त नेतृत्व परिवर्तनको आवाज उठेको हो । हामीले खोजेको र मानेको मूल्य मान्यतालाई फेरि कायम गर्नका लागि नेतृत्व परिवर्तन हुनुपर्छ भनेको यही कारणले हो । 


अध्यक्ष कमल थापाले भनेजस्तै ‘अल्छी घोडाहरु’का कारणले गर्दा पो पार्टीले बुर्कुसी मार्न नसकेको हो कि ?


एउटालाई राम्रो अर्कोलाई किन नराम्रो भन्ने र ! तीनवटै अध्यक्षलाई तपाईंहरु मिलेर जानुस् र पार्टीलाई वैकल्पिक शक्ति बनाउनुस् भन्ने म्यान्डेट दिएको हो । उहाँहरुले सक्नुभएन, त्यो दुर्भाग्य हो । यहाँ कोही अल्छी, कोही बुर्कुसी मार्ने भन्ने कुरै भएन,  तीनवटै अध्यक्ष असफल सिद्ध भइसक्नुभएको छ । यसमा कुनै पनि शंका छैन ।


राप्रपाको नेतृत्व तहमा अहिलेसम्म पुरानै पुस्ताका नेताहरुको बाहुल्य छ । के राप्रपामा दोस्रो पुस्ताको नेतृत्व सम्भव छ त ?


महाधिवेशनमा त नयाँ पुराना सबै नेता कार्यकर्ताहरूले आफ्नो आफ्नो दावा पेश गर्न खोज्छन्, त्यो स्वाभाविक र प्रजातान्त्रिक अधिकार पनि हो । त्यसकारणले हामी दोस्रो पुस्ता पनि अगाडि सरेका छौं । अहिलेका तीन अध्यक्षहरु पनि पछाडि सर्नुभएको छैन, महाधिवेशन भए ती सबै विषय महाधिवेशनले टुंगो लगाइहाल्थ्यो । तर, दुर्भाग्य, त्यो हुन सकिरहेको छैन । हामी चाहन्छौं छिट्टै महाधिवेशन होस् ।


महाधिवेशन भए नेतृत्वमा यहाँको दाबी रहन्छ कि ?


स्वाभाविकरुपमा मेरो दाबेदारी रहन्छ । मैले पनि नेतृत्व सम्हाल्न सक्छु । म हरेक किसिमले तयार भइसकेँ । पार्टीको दुईपटक महामन्त्री भइसकेँ । हरेक किसिमले म राप्रपाको नेतृत्व सम्हाल्न तयार छु । दोस्रो पुस्ताका नेताहरु कसैले म अगाडि बढ्छु भने पनि मलाई कुनै आपत्ति छैन । तर, मैले आफ्नो दाबा गरेको छु र तयार छु भनेर सार्वजनिकरुपमा भनिसकेको पनि छु ।


पार्टीको नेतृत्व गर्न तयार छु त भन्नुभयो, राप्रपालाई अघि बढाउने तपाईँको सूत्रचाहिँ के छ त ?


यसमा धेरै लामो कुरा गर्नुपर्ने छैन । हामी यो राष्ट्रमा भएका सम्पूर्ण हिन्दुवादी, सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र चाहनेहरु, संवैधानिक राजतन्त्र चाहनेहरु र राष्ट्रवादीहरु सबैलाई एउटा ठाउँमा ल्याएर कम्युनिस्ट र काँग्रेसको विकल्पमा हामीले आफूलाई प्रस्तुत गर्न सक्यौं भने ठूलो उपलब्धि गर्न सक्ने सम्भावना छँदैछ । त्यो कुरा गर्नतिर म लाग्छु ।


ठूलो हृदय राख्नुपर्यो । सबैलाई समावेश गर्नुपर्यो । सबै लामवद्ध भएर एउटा एउटा ईँटा थपेर देशमा परिवर्तन ल्याउन जनता लालायित छन् । जनता अहिलेको अवस्थाले आत्तिइसके । फेरि परिवर्तन खोज्दैछन् । हाम्रो सनातन हिन्दुराष्ट्र र राजतन्त्र गुमेकोमा जनता दुखी छन् ।


यहाँले पार्टीलाई अघि बढाउन युवा पुस्ताको नेतृत्वमा जोड दिँदै गर्दा यसबारे पार्टीभित्र कसरी छलफल अघि बढिरहेको छ ?


नेताहरुबीच हाम्रो गहन छलफल भइरहेको छ । दोस्रो पुस्ताका हामी सबै नेताहरु नेतृत्व परिवर्तन हुनुपर्छ भनेर एकमत छौँ । त्यसमा मैले आफ्नो नाम अघि सारेको हो । यसमा हामी छलफल गरेर थप निर्णय लिन्छौं ।


अर्को प्रसंग, राप्रपा फेरि सरकारमा जाने चर्चा चलेको थियो नि ?


यो विषयमा मलाई कुनै पनि जानकारी छैन । कुनै पनि आह्वान वा आमन्त्रण भएको छैन । आमन्त्रण र आह्वान भयो भने पार्टीको कमिटीहरुभित्र छलफल होला । सरकारमा जाने अथवा नजाने भन्ने कुरा एक–दुईजना नेताले भनेर त्यो अर्थहीन हुन्छ । पार्टी कमिटीको सिंगो निर्णयले मात्रै यो विषयमा अन्तिमरुप दिनुपर्छ ।


मलाई व्यक्तिगत रुपले सोध्नुहुन्छ भने जे निर्णय हुन्छ, म त निर्णय मान्ने मान्छे हो । अल्पमतमा परे पनि नोट अफ डिसेन्ट लेखिदिने हो । असहमति जनाउने हो । तर, निर्णयलाई स्वीकार गर्ने । त्यही त हो ।तर, आजको दिनमा हामी सरकारमा जान हुँदैन । नेपाली जनताले फेरि राप्रपा पदलोलुपतामा लाग्यो भन्ने निश्चय नै आरोप लगाउनेछन् । हामी महाधिवेशन अथवा चुनावका लागि तयारीमा अगाडि बढ्नुपर्छ । यो सरकारमा जाने बेमौसमी कामचाहिँ गर्न हुँदैन जस्तो मलाई लाग्छ ।


तपाईले पार्टीको जस्तोसुकै निर्णय मान्छु त भन्नुभयो । तर, लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको ह्वीपविपरीत तपाईँ किन अनुपस्थित हुनुभएको ? राप्रपाले एमालेलाई मतदान गर्ने भनेको थियो, तपाईले किन नमानेको ?


त्यो विषयमा म प्रष्ट बनाउन चाहन्छु, बागमतीमा बादलजीलाई भोट हाल्ने निर्णय पार्टीले गरेको थियो । लुम्बिनी प्रदेशको भोटिङमा भने मैले पार्टीका तीनवटै अध्यक्षज्यूहरुलाई फोन गरेर सोधेको हो, पार्टीको केही निर्णय छ कि भनेर । पार्टीको निर्णय छ भने मैले नमान्ने कुरा हुँदैन, केही छ भने पाउँ भनेर भनेको हो । तर, उहाँहरुले यो विषयमा छलफल भएको छैन, जे गर्न मन लाग्छ आफैंले सोचेर, सम्झेर गर भनेर भनिसकेपछि  मलाई जे ठीक र राम्रो लाग्यो, त्यही गरेको हुँ । 


दुईटै पार्टीको फोहोरी खेलमा हामीलाई अल्झिनु आवश्यकता छैन । बादलजीलाई भोट हालेकोमा पार्टीका कार्यकर्तामा असन्तुष्टि थियो, त्यो असन्तुष्टिलाई पनि नजर राखेर दुई पार्टीको फोहोरी खेलमा सरोकार नराख्ने भनेर नै सार्वजनिकरुपमै भोट हाल्न जान्नँ भनेर भनेको थिएँ । 


अन्तिममा, अर्को एउटा राजनीतिक प्रसंग जोडौँ, प्रतिनिधिसभा विघटनलाई कसरी हेर्नुभएको छ ? यो विषयमा राप्रपाको लाइन के हो ?


पक्कै पनि अहिलेको राजनीतिक परिस्थिति निम्तनु दुर्भाग्य हो । व्यक्तिगत स्वार्थमा लिप्त नेताहरुको हातमा देश परेछ । हामीले त एक किसिमले यो सिस्टम नै ठीक छैन भनिरहेका छौं । गणतन्त्र, संघीयताले देश फाप्दैन भनिरहेकै थियौं र त्यो सिद्ध भइरहेको छ । त्यसमानेमा खुसी हुनुपर्ने, तर देशको दुर्दशा देखेर हामी खुसी हुन सक्ने अवस्था पनि छैन ।
विघटन संवैधानिकरुपमा ठीक÷बेठीक भन्ने कुरा त अब न्यायाधीशले फैसला गर्लान् । तर, नेताहरुको स्वार्थ र पार्टीको विवादले देश नै चल्न नसक्ने स्थिति भइसकेको थियो । यही पृष्ठभूमिमा विघटन भएको छ र चुनाव नै एउटा विकल्प हो ।


हामी त देश यसरी चल्दैन, यो सिस्टमले चल्दैन भन्नेमा प्रष्ट नै छौं । देशमा महामारी छ, नेताहरु भने कुर्सीकै लागि लडिरहेका छन् । तिनीहरु देश र जनताको स्वास्थ्यको कुरा भन्दा पनि आफ्नै स्वार्थ र सत्तासिप्ताका लागि कुर्सीको मोहमै दौडिरहेको हामी सबैले देखिराखेका छौं । यो स्थितिबाट मुक्ति पाउनका लागि उपाय त चुनाव नै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here