काठमाडौं २०७८ वैशाख १७ गते ।

मनाेज कौशल

सरकारले भारतसँगका २२ वटा मुख्य नाका बन्द गर्ने निर्णय लिएको छ। सिंहदरबारमा शुक्रबार अपरान्ह बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले भारतसँग जोडिएका २२ वटा बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय लिएको हो। यी नाका बन्द भएसँगै अब १३ वटा नाकाबाट आवातजावत गर्न दिइनेछ। सिसिएमसीले काँकडभिट्टा, जोगबनी, इलामको पशुपतिनगर, भिट्टामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, मूलघाट, झुलाघाट, गौरीफन्टा र गड्डाचौकी नाका मात्रै सञ्चालनमा रहने जनाएको छ। भारतमा कोरोना भाइरसको संक्रमणले विस्फोटक रुप लिइसकेको छ। यस्तो अवस्थामा खुला सिमानाबाट मानिसहरुको आवातजावत अझै नरोकिएपछि नाका बन्द गर्नु ठीक हुने भन्दै सरकारलाई सिफारिस गरेको हो। यस्तै आजको बैठकले एकचौथाइ सरकारी कार्यालय मात्रै खोल्ने निर्णय लिएको छ। यो नियम निषेधाज्ञा लागू गरिएका काठमाडौं, ललितपुरसहितका जिल्लामा लागू हुनेछ । सिसिएमसीले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय लिएको छ। निषेधाज्ञाको समयमा खुल्ने उद्योगले मजदुर र कर्मचारीलाई उद्योग परिसरभित्रै खाने बस्ने व्यवस्था गर्नुपर्ने नियम बनाइएको छ। आज बसेको सिसिएमसीका निर्णयहरु मन्त्रिपरिषदलाई सिफारिस गरिएको छ । अबको मन्त्रिपरिषद् बैठकबाट ती सिफारिस अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here