नेपालगन्ज–बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ फत्तेपुरमा बाघले फेरि मान्छेलाई आक्रमण गरेको छ । बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला बाघ गणना चलिरहँदा राप्तीसोनार गाउँपालिका– ६ निवासी करिव ६० वर्षीय धनबहादुर चलाउनेलाई शनिबार बिहान बाघले आक्रमण गरी मारेको हो ।

करिब महिनाअघि पनि वडा नम्बर–६ कै २९ वर्षीया चाँदनी थारु र राप्तीसोनारी–४ पर्सोना निवासी ५३ वर्षीया लिला बिष्टलाई पनि बाघले आक्रमण गरी मारेको थियो । बाघले शनिबार बिहान फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वन अन्तर्गत पर्ने सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरको छेउमा ६० वर्षीय चलाउनेलाई आक्रमण गरेको राप्तीसोनारी–६ का स्थानीय बासिन्दा प्रदीप पौडेलले जानकारी दिए । उनका अनुसार बाघले चलाउनेलाई करिव–५ सय मिटर जंगलभित्र लगेको थियो ।

गाउँबाट ठूलो संख्यामा गाउँलेहरु पुगेपछि बाघले शवलाई छाडेर भागेको छ । उनले भने, शव फेला परिसकेको छ, बाघ अहिले जंगलतिर भागेको छ ।’ सामुदायिक वन समूहले उपभोक्ताका लागि शनिबार दाउरा, घाँस खोलेको थियो । दाउरा, घाँस काट्नका लागि सामुदायिक वन क्षेत्रमा करिब २५÷३० जनाको संख्यामा शनिबार बिहान जंगलमा गएका थिए । बाघलाई देखेपछि केहीले रुखमा चढेर ज्यान जोगाउन सफल भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पनि फत्तेपुरमा बाघले फेरि मान्छे मारेको पुष्टि गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here