नेपालगन्ज–बर्दिया जिल्लामा कोभिड–१९ को संक्रमणलाई व्यवस्थापन गर्न सरोकारवाला निकायबीच भर्चुअल संवाद गरिएको छ । संवादका सहभागीले बर्दिया अस्पतालमा विशेषज्ञसहितको चिकित्सक तथा पुर्ण दरबन्दी र प्रविधिसहितको व्यवस्था गरी स्वास्थ्य उपचारको सेवा प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै तेस्रो लहरको पूर्व तयारी गर्नु पर्ने बताएका थिए ।

पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सोमबार गरेको भर्चुअल संवादका सहभागीहरुले कोरोना नियन्त्रणका लागि विभिन्न व्यक्ति तथा संस्थाले प्रचार प्रसारका लागि स्वास्थ्य सामाग्री वितरण गरिएकाले वास्तविक चाहिने गरिब तथा अतिविपन्न नागरिकलाई बेवास्ता गरिएको बताएका थिए ।

अहिलेको अवस्थामा बजारमा खाद्यान्नलगायत सामाग्रीमा मूल्यवृद्धि, घरेलु हिंसा जस्ता विभिन्न घटना बढेको र दैनिक मजदुरी गर्ने नागरिकको मानवअधिकार संरक्षण गर्नु पर्ने कुरामा सहभागीहरुले स्थानीय सरकार तथा प्रशासनको भूमिका प्रभावकारी बनाउनु पर्ने माग गरेका थिए ।
संवादमा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले कोभिड संक्रमणको महामारीको अवस्था र पहलका बारेमा प्रस्तुतीकरण गरेका थिए । छलफलमा बर्दिया बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण ओली, पत्रकार महासंघ बर्दियाका निवर्तमान अध्यक्ष राजेन्द्र धिताल, स्थानीय सभाका संयोजक हरिबहादुर घर्ती, गुलरिया नगरपालिकाका अधिकृत कपिल घिमिरेलगायतले आआफ्नो विचार राखेका थिए ।
आयोजक संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न संवादमा कार्यकारी निर्देशक राकेशकुमार मिश्रले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भएको थियो भने कार्यक्रम संयोजक टेकनाथ आचार्यले सहजीकरण गरेका थिए । छलफलमा नागरिक समाज, अधिकारकर्मी, लक्षित वर्ग तथा अन्य सरकारी तथा गैरसरकारी निकायका करिब ५० जनाको सहभागिता रहेको कार्यक्रम अधिवृत प्रतापसिंह थारुले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here