जेठ १७ नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली बुधवार दिउँसो भारत प्रस्थान गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।
भोलि जेठ १८ गते बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा जानेछन् । त्यहाँ पुष्पहार अर्पण गरेपछि हैदराबाद हाउसमा फर्किनेछन् ।
नेपाल र भारतबाट सार्वजनिक गरिएको प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिकामा भारतका विपक्षी लगायत दलका अन्य नेताहरुसँग भेट्ने कि नभेट्ने भन्ने उल्लेख छैन ।
हैदरावाद हाउसमा बिहान ११ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । प्रचण्ड र मोदीबीच आधा घण्टा भेट्ने समय छुट्याइएको छ । त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।
सोही दिन मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
सोही दिन प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन् । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।
त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्ने कार्यक्रम छ ।
भ्रमणको तेस्रो दिन शुक्रबार (जेठ १९ गते) प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर भ्रमणमा जानेछन् । चौथो दिन
(जेठ २० गते) शनिबार इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने छन् । सोही दिन नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको अपराह्न ४ः२० को उडानबाट उनी काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।
मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, प्रचण्डकी छोरी गंगा दाहाललगायत छन् ।
यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणमा गएपछि उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सकेसम्म राम्रो गर्न कोसिस गर्ने बताएका छन् । नभए नराम्रो चाहिँ नगर्ने उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here