नेपालगन्ज/ नेपालगन्जमा आगामी पुस ५ गतेदेखि कृषि प्रवर्द्धन व्यापारिक तथा रोजगार पूर्वाधार महोत्सव हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजन कार्यालयको प्राङ्गणमा पुस ५ गतेदेखि १७ गतेसम्म महोत्सव हुने आयोजक एजी सर्भिस प्रालिले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

महोत्सवमा कृषि क्षेत्रमा संलग्न प्रदेश स्तरका कृषकहरुलाई सहभागी गराउने र निःशुल्क कृषिसँग सम्बन्धित तालिम उपलब्ध गराउने उद्देश्य रहेको महोत्सवका सचिवालय संयोजक नन्दबहादुर बुढाले जानकारी दिए । संयोजक बुढाले भने,‘महोत्सवमार्फत् कृषि क्षेत्रलाई अगाडि बढाएर कसरी रोजगारीको वातावरण सिर्जना गर्न सकिन्छ भन्ने मुख्य लक्ष्य रहेको छ । साथै औद्योगिक प्रवद्र्धन र पर्यटन व्यवसायलाई प्रोत्साहन गरे रोजगारीको अवसर देशमै प्रशस्त रहेकाले हामी सबैले सामाजिक उत्तरदायित्व बहन गर्दै कृषि, औद्योगिक र पर्यटन व्यवसायलाई अघि बढाउनु पर्छ भन्ने सन्देश दिनु नै महोत्सवको मुख्य उद्देश्य हो ।’ संयोजक बुढाले महोत्सवमा कृषिसँगै पर्यटन, औद्योगिक, व्यापार तथा सांस्कृतिक प्रदर्शनीलाई समेत समेटिएको जानकारी दिए ।

बिहान १० बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने महोत्सवमा कृषि तथा पशुपन्छी, पर्यटन, व्यपारिक लगायत सबै क्षेत्रलाई समेट्ने गरी ३०० सय वटा स्टलहरु राखिने बताइएको छ । त्यसमध्ये ५० वटा स्टल कृषि तथा पशुपन्छी, उद्यमी र लघुउद्यमीहरुलाई निशुल्क छुट्टयाइएको संयोजक बुढाले जानकारी दिए ।

महोत्सव अवलोकनको समय बिहान १०ः०० बजेदेखि साझा ७ः०० बजेसम्म रहने छ भने विद्यार्थीको लागि ८० रुपैयाँ र सर्वसाधारणको लागि १०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here