नेपालगन्ज– जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यो वर्षको विपद्बाट २५ हजार घर परिवारको १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ ।
त्यसैगरी मनसुनबाट करिब १० हजार घर परिबारको ५० हजार मानिस प्रभाबित हुने अनुमान छ । सोमबार बसेको बैठकले जिल्लाको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ समेत स्वीकृत गरेको छ ।  

समितिको सोमबार बसेको बैठकलले बाढी र डुबानबाट हुने जोखिम कम गर्न सचेतना अभिवृद्धिका लागि  बर्षा र बाढी सम्बन्धी सूचना तथा बुलेटिनहरुलाई उच्च प्राथमिकता दिई प्रकाशन प्रसारण गर्न  संचार माध्यमहरुलाई अनुरोध  गर्ने निर्णय गरेको छ ।
त्यसै गरी मनसुन शुरु भैसकेको अवस्थामा बाढीजन्य विपदको खोज तथा उद्धारमा प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरी डुडुवा गाँउपालिकाको कम्दी स्थित राप्ती नदीमा सबै सुरक्षा निकाय, पालिका रेडक्रसको सहभागितामा असार ११ गते बिहान ११ बजे कृत्रिम घटना अभ्यास गर्ने  तयारी गरेको छ ।
बाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त्त क्षेत्र, परिवार सख्या र सुरक्षित स्थानको पहिचान अविलम्व गर्ने, पालिका भित्र भएको विपद्मा प्रयोग हुने स्रोत साधन, जनशक्तिको  अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने,पौडी खेल्ने  जस्ता कार्यहरु रोक्ने निर्णय गरेको छ । अत्यावश्यक सामाग्री खानेकुरा,कपडा,औषधी,पानीहरुको आवश्यक भण्डारण गर्ने, महिला,बालबालिका, ज्येष्ठ नागरिक अपाङ्गता भई उच्च जोखिममा रहेका व्यक्तिहरुको सुरक्षामा विशेष ध्यान दिने निर्णय गरेको छ ।
नजिकको नदी, नालामा पानीको बहावको सूचना लिई नदीको सतह बढेको तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय भएको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । त्यसै गरी बाँकेको बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला, डुडुवा नालालगायतका जोखिमयुक्त क्षेत्रहरुमा हुन सक्ने कटान तथा बाढीका कारण हुने क्षति न्यूनिकरणका लागि समयमै रोकथाम तथा आपतकालीन तटबन्धको लागि कार्य गर्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिने गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here