काठमाडौँ,जेठ ३१ गते । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष यादवले पार्टीको निर्णय बिना सरकारमा सहभागी भएको भन्दै मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् ।


‘पार्टीको कुन निर्णयबाट सरकारमा सहभागी भएको भनेर सोधेका छौं’, अध्यक्ष यादवले स्पष्टीकरण बुझाउन सात दिनको म्याद दिइएको छ ।


सात दिनभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन र जसपाको अन्तरिम विधान २०७७ बमोजिम कारबाही गर्ने चारबुँदे स्पष्टीकरण पत्रमा चेतावनी पनि दिइएको छ । यता भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बनेका जसपा नेता लक्ष्मणलाल कर्णले स्पष्टीकरणबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।


केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । सरकारमा जसपाको नेतृत्व गरेका राजेन्द्र महतोले उपप्रधानमन्त्री र सहरी विकास मन्त्रालय पाएका छन् ।


यसैगरी शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।


राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । यसैगरी चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । 
 

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here