बर्दिया, जेठ २४ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको ठाकुरद्वारामा तीनदिने सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न गरेको छ ।
२२ जना युवा एम्बेसडरहरूको सक्रिय सहभागिता रहेको सो तालिममा मानव बेचबिखन, लैङ्गिक हिंसा, बाल संरक्षण तथा सुरक्षित आप्रवासनजस्ता सामाजिक मुद्दामा प्रभावकारी जनचेतना फैलाउन युवाहरूको अभिनय, सञ्चार, नेतृत्व तथा वकालतसम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको क्लबले जनाएको छ ।
तालिमको सहजीकरण चर्चित गायक, रंगकर्मी तथा सप्तरंगी मञ्चका अध्यक्ष विष्णु थापा सरगमले गर्नु भएको थियो । उहाँले सहभागीहरूलाई अन्तरक्रियात्मक सिकाइ, व्यावहारिक अभ्यास, भूमिकानिर्वाह तथा सडक नाटक प्रस्तुतिमार्फत अभिनय कला र सामाजिक सन्देश प्रवाहका विभिन्न पक्षबारे प्रशिक्षण दिनुभयो ।
तालिमका क्रममा सहभागीहरूले मानव बेचबिखन, बालविवाह, लैङ्गिक हिंसा तथा बाल संरक्षणसम्बन्धी विषयवस्तुमा आधारित चेतनामूलक सडक नाटक तयार गरी प्रस्तुति दिएका थिए । यस प्रक्रियाले उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता, समूहकार्य, सिर्जनशीलता तथा सार्वजनिक रूपमा बोल्ने क्षमतामा उल्लेखनीय वृद्धि भएको आयोजकले जनाएको छ ।
समापन समारोहका प्रमुख अतिथि बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले युवाहरूलाई तालिमबाट प्राप्त ज्ञान र सीपलाई समुदायमा सकारात्मक परिवर्तनका लागि उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले युवाहरू सामाजिक रूपान्तरणका महत्वपूर्ण संवाहक भएको उल्लेख गर्दै समाजमा रहेका विकृति र विसंगतिविरुद्ध सचेतना फैलाउन सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।
त्यसैगरी, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङले सामाजिक न्याय, जनचेतना अभिवृद्धि तथा दिगो विकासका लागि युवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।
तालिम समापनसँगै सहभागीहरूले सडक नाटकलाई जनचेतना, वकालत तथा सामुदायिक सहभागिताको प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमले युवाहरूलाई सिर्जनात्मक क्षमता विकाससँगै सामाजिक उत्तरदायित्वप्रति थप सचेत बनाएको विश्वास गरिएको छ ।
युवाहरूलाई सीप, अवसर र नेतृत्व प्रदान गर्दै सुरक्षित, समावेशी तथा सचेत समाज निर्माणमा योगदान पु¥याउने उद्देश्यका साथ सञ्चालन गरिएको सो पहलले सामाजिक परिवर्तनका लागि नयाँ पुस्तालाई सशक्त बनाउने अपेक्षा गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।






