१४ जेठ, नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो महान पर्व ईद–उल–अजहा ‘बकरीद’ आज हर्षाेल्लासपूर्वक मनाइँदैछ । त्याग र बलिदानको शास्वत सन्देश दिने यो पर्व ३ दिनसम्म लगातार मनाइने गरिन्छ ।
यस पर्वमा भेडा, बाख्रा, राँगा, ऊँट आदिको कुर्बानी दिने गरिन्छ ।
कुर्बानी गराएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छर–छिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफु र आफन्तलाई खुवाउने प्रचलन रहेको छ ।
बकरीदको नमाज पढेपछि एक अर्कालाई अंकमाल गरि शुभकामना साटासाट गर्ने परम्परा रहेको छ । यस पर्वमा ईदगाह नजिक आउने गरिब गुरुवाहरुलाई दान दिने गरिएको छ । साथै नमाज पढिसकेपछि साथीभाई, इष्ट–मित्रहरुलाई शुभकामना दिइ मिठो परिकार खुवाउने गरिन्छ ।
मान्यता अनुसार, एकदिन अल्लाहले हजरत इब्राहिमलाई सपनामा उनको सबैभन्दा प्रिय बस्तुको कुर्बानी मागे । हजरत इब्राहिमलाई सबैभन्दा प्रिय उनको छोरा थिए उनले आफ्नो छोराको कुर्बानी दिने निर्णय गरे ।
निर्णयअनुसार हजरत इब्राहिमले आफ्नो छोरा बलि दिन उनको घाँटीमा प्रहार गरे । त्यसै समय अल्लाहले चक्कूको प्रहारबाट हजरत इब्राहिमको छोरालाई बचाएर एउटा भेडा कुर्बानी दिलाए ।
धार्मिक मान्यता अनुसार उनकै पालामा कुर्बानीको शुरुवात भएको मानिन्छ ।
बकरीद पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।




