नेपालगन्ज, १७ वैशाख । नेपाल सरकार, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाको नेतृत्वमा सञ्चालन भइरहेको राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँके जिल्लामा पनि प्रभावकारी रूपमा सुरु गरिएको छ ।
६ देखि ५९ महिनासम्मका बालबालिका तथा पहिलो १,००० दिनभित्रका आमाहरूमा हुने कुपोषणको समयमै पहिचान गर्ने उद्देश्यले देशव्यापी रूपमा सञ्चालन गरिएको यो अभियान बाँकेमा “न्युट्रिसन फर लाइफ” परियोजना अन्तर्गत अघि बढाइएको हो ।
यस राष्ट्रिय अभियानलाई अझ प्रभावकारी र सुदृढ बनाउन हेलन केलर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबले सहकार्य गरिरहेको छ । सोही अनुरूप राष्ट्रिय पोषण स्क्रिनिङ अभियान २०८२÷८३ बाँके जिल्लामा सञ्चालनमा आएको हो ।
अभियान अन्तर्गत बालबालिका र पहिलो १,००० दिनभित्रका आमाहरूको मिड–अपर आर्म सर कम्फरेन्स मापनका साथै उमेर, उचाइ÷लम्बाइ तथा तौल परीक्षणमार्फत पोषण अवस्था मूल्यांकन गरिन्छ । स्क्रिनिङका क्रममा गम्भीर कुपोषण भएका बालबालिका तथा मध्यम कुपोषण भएका बालबालिका र कम तौल भएका आमाहरूको उपचार तथा पोषण सहयोग प्रदान गरिने व्यवस्था गरिएको छ ।
यस अभियानको पहिलो कार्यक्रम खजुरा गाउँपालिका वडा नं. २ गउघाटस्थित सीतापुर स्वास्थ्य चौकीबाट सुरु गरिएको छ । स्क्रिनिङका क्रममा पाँच वर्षमुनिका ६९ जना बालबालिकाको पोषण परीक्षण गरिएकोमा ५ जना मध्यम कुपोषणका बिरामी पहिचान भएका छन् । त्यसैगरी ७ जना गर्भवती महिलाको परीक्षण गर्दा २ जना कुपोषित अवस्थामा भेटिएका छन् ।
उक्त कार्यक्रममा स्वास्थ्यकर्मी प्रेम चन्द र सीता थापाले परीक्षण सेवा प्रदान गर्नुभएको थियो भने महिला स्वास्थ्य स्वयंसेविका सुनिता राईको सक्रिय सहभागिता रहेको थियो । साथै न्यूट्रिसन सहजकर्ता सुष्मा केसीले स्क्रिनिङ, परामर्श तथा आवश्यक रिफरल सेवामा सहजीकरण गर्नुभएको थियो ।
यसैगरी राप्तीसोनारी गाउँपालिकाका वडा नं. २, ६, ७ र ९ मा समेत राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु गरिएको छ । सम्बन्धित वडाका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहकार्यमा समुदायस्तरमै प्रभावकारी रूपमा पोषण परीक्षण सेवा सञ्चालन भइरहेको छ ।
यस अभियानले बालबालिका र आमाहरूमा कुपोषणको शीघ्र पहिचान, समयमै उपचार तथा समुदायस्तरमा पोषण सुधारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।








