२० चैत्र, नेपालगन्ज । बाँके डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निर्माण गर्न थालेको छ । डुडुवा गाउँपालिका वार्ड नंं.–१ टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निर्माण शुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले एक कार्यक्रमका बीच उक्त योजना निर्माणको शिलान्यास गरेका छन् । अध्यक्ष चौधरीले डुडुवा नाला पारीका स्थानीयलाई आवतजावतमा सहजताका लागि ट्रस ब्रिज निर्माण गर्न लागेको भन्दै वर्षा, बाढी डुबान तथा अन्य समयमा वारपार गर्न सहज हुने विश्वास व्यक्त गरे । उनले पालिकासंग सिमित साधन स्रोत भएकाले अहिलेलाई यही पुलले राहत दिने भन्दै भविष्यमा ठुलो पुल निर्माणको पहल गर्ने प्रतिबद्धता गरे ।
रु. एक करोड ११ लाखको लागतमा ५७ मिटर लामो पुल लुम्बिनी इन्जिनियरिङ्ग वक्र्स प्रालिले निर्माणको जिम्मा लिएको पालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताए । उनका अनुसार निर्माण कम्पनीले दुई महिनाभित्र निर्माण सम्पन्न गर्नेछ ।
पुलबाट डुडुवा नाला पारी चौफेरी, कृषि चौफेरी, छिटाइपुर्वा, पाझा, टेपरी, पिप्रहवा लगायत गाउँका स्थानीयहरु लाभान्वित हुनेछन् ।
बाढी प्रभावित क्षेत्र तथा विकास निर्माणले पछि परेको डुडुवा वार्ड–१ लाई पालिकाले विशेष प्राथमिकताका साथ सो क्षेत्रको विकास गर्दै आएको छ । उक्त क्षेत्रलाई कृषि तथा धार्मिक पर्यटन क्षेत्रको रुपमा गुरुयोजना लागु गरेर कार्य गरिरहेका अध्यक्ष चौधरीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here