बर्दिया, असोज २९ । बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत ठाकुरबाबा नगरपालिकामा धार्मिक गुरु, अगुवा, बरघर तथा गुरुवाहरूको सञ्जालसँगको बैठक तथा छलफल सम्पन्न भएको छ ।
सो बैठकमा बालविवाह न्यूनीकरण र लागुऔषध दुरुपयोग नियन्त्रणका लागि समुदायस्तरमा प्रभावकारी अभियान सञ्चालन गर्ने विषयमा छलफल गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
छलफलका क्रममा अधिकांश धार्मिक तथा सामुदायिक अगुवाहरूले बालविवाह एक हानिकारक सामाजिक अभ्यास भएको उल्लेख गर्दै यसलाई अन्त्य गर्न नकारात्मक सामाजिक मूल्य, मान्यता, परम्परा तथा व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
धार्मिक सञ्जालका अगुवाहरूले कानुनी विवाहयोग्य उमेर पूरा नगरेका बालबालिकाको विवाहमा पुरोहितका रूपमा धार्मिक विधि तथा संस्कार सम्पन्न नगर्ने र बालविवाहलाई प्रोत्साहन गर्ने अभ्यासको अन्त्यका लागि व्यावहारिक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
साथै, बालविवाह हुन सक्ने जोखिम पहिचान गर्ने, अभिभावक तथा समुदायका सदस्यहरूलाई सचेत गराउने, बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न सहयोग गर्ने र बालविवाह रोकथामका लागि वडा कार्यालय, महिला तथा बालबालिका शाखा, विद्यालय, शिक्षक, बाल क्लब, प्रहरी, बाल अधिकार समिति, वडा बाल अधिकार समिति तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्ने विषयमा सहमति भएको थियो ।
त्यसैगरी, बैठकमा बालबालिका तथा किशोरकिशोरीमा बढ्दो लागुऔषध प्रयोग तथा दुरुपयोगका नकारात्मक असरलाई न्यूनीकरण गर्न धार्मिक तथा सामुदायिक अगुवाहरूको नेतृत्वमा समुदायस्तरीय जनचेतनामूलक अभियान सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो ।
धार्मिक सभा, प्रवचन, सामुदायिक भेला, विद्यालय तथा युवा समूहहरूमार्फत लागुऔषध दुरुपयोगका स्वास्थ्य, सामाजिक, पारिवारिक तथा शैक्षिक असरबारे जानकारी प्रवाह गर्ने, अभिभावकलाई आफ्ना छोराछोरीसँग नियमित संवाद गर्न प्रेरित गर्ने विषयमा जोड दिइएको थियो ।
कार्यक्रमको सहजीकरण गर्दै सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले ठाकुरबाबा नगरपालिकामा उमेर नपुगी हुने बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरणका लागि किशोरकिशोरी, अभिभावक तथा समुदायका सदस्यहरूलाई लक्षित गरी प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गोगनसरा आचार्यले बालविवाह न्यूनीकरणका लागि धार्मिक सञ्जालसँग समन्वय र सहकार्य गर्दै आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
त्यसैगरी, बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बालविवाह रोकथाम केवल संस्थागत प्रयासबाट मात्र सम्भव नहुने भएकाले परिवार, अभिभावक, धार्मिक अगुवा तथा समुदायका सबै सदस्यहरूले सामूहिक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।
यसैगरी, बाँके युनेस्को क्लबका तालिम सहजकर्ता विनय दिल लामाले समुदायमा बालविवाह हुने प्रवृत्ति विभिन्न नयाँ स्वरूपमा देखापरिरहेको विषय उठाउनुभयो ।
कार्यक्रममा सहभागी धार्मिक गुरु, पुरोहित, बरघर, गुरुवा तथा सामुदायिक अगुवाहरूले बालविवाह न्यूनीकरण र लागुऔषध दुरुपयोग नियन्त्रणका लागि आ–आफ्नो समुदायमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पुनर्गठित नगरस्तरीय धार्मिक सञ्जाललाई समुदायमा सकारात्मक सामाजिक परिवर्तनको माध्यमका रूपमा परिचालन गर्दै बालविवाह, लागुऔषध दुरुपयोग तथा अन्य बाल संरक्षणसम्बन्धी सवालमा सामूहिक अभियान सञ्चालन गर्ने विषयमा जोड दिइयो ।





