पवन पुत्र हनुमानजीको जन्मोत्सव आज विभिन्न कार्यक्रमको आयोजन गरी श्रद्धाभक्तिपूर्वक मनाइँदै छ ।
अष्ट चिरञ्जीवि मध्येका माता अन्जनी र पवन पुत्र, राम भक्त हनुमानजीको जन्मोत्सव श्रद्धाभक्तिपूर्वक विभिन्न कार्यक्रमको आयोजन गरी नेपालगन्ज हनुमत गौशालामा चैत्र १७ गतेदेखि १९ गतेसम्म विभिन्न धार्मिक कार्यक्रमको आयोजन गरी मनाउन थालिएको हो ।
चैत्र १७ गते मंगलवार अखण्ड रामायण पाठ अष्टयाम संकीर्तन एवं निशान पूजन, चैत्र १८ गते बुधवार बालाजीको रात्रि जागरण एवं झाँकी तथा आज बिहीवार चैत्र १९ गते दिउँसो १२ः३० बजेदेखि साँझ ४ बजेसम्म श्री सुन्दरकाण्ड पाठ भजन कीर्तन महाआरती एवं महाप्रसाद (विशाल भण्डारा)को आयोजन गरि श्री हनुमान जन्मोत्सव मनाउन लागिएको आयोजक श्री सुन्दरकाण्ड मित्र मण्डलले जानकारी गराएको छ ।
कलियुगमा स–शरीर उपस्थित भएका भगवान केवल हनुमान मात्रै हुन् । उनी रामायणको सबैभन्दा दयावान् अनि शक्तिशाली पात्रका रुपमा चिनिन्छन् ।
हनुमानकी आमा अञ्जना एउटी अप्सरा हुन् । अन्जानेरी पर्वतमा जन्मिएकी अन्जना आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् ।
हनुमानका पिता सुमेरु पर्वतका राजा बृहस्पतिका छोरा केशरी हुन् । त्यसबाहेक, हनुमानका मतिमान, श्रुतिमान, केतुमान, गतिमान र धृतिमान नामक ५ साना भाइहरू छन् ।
आमा अञ्जनाले लामो समयसम्म भगवान् शिवको आराधना गरेपछि उनको आराधनाले भगवान् शिव प्रसन्न भए । त्यसपछि शिवले भगवान् वायुलाई आफ्नो पुरुष शक्ति अनि ऊर्जाहरूलाई केन्द्रित गरेर अञ्जनाको गर्भमा भरिदिन भनेपछि हनुमान गर्भमा आएकाले हनुमानलाई वायु पुत्र या पवन पुत्र भनिन्छ ।
हनुमान बाहेक महाभारतका कुन्तीपुत्र भीम पनि पवनपुत्र हुन् । हनुमान भगवान् रामका परम भक्त थिए ।








