१९ चैत्र, नेपालगन्ज । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले आज बिहान ८ बजेदेखि देशभर एकैपटक परीक्षा सुरु भएको जनाएको छ ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान र २४ गते सामाजिक विषयको परीक्षा हुने छ ।
२५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।
यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । ती परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलसहित एक हजार ९६६ परीक्षा केन्द्रमा एसईई हुनेछ ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन गरिँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी, विद्युतीय उपकरणलगायत प्रयोग गर्न पाइनेछैन । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ ।
यता बाँकेमा यस वर्ष जिल्लाबाट कुल ९ हजार ६ सय ८३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् । जसमध्ये नियमिततर्फ ७,९८१, ग्रेड वृद्धितर्फ १,७०२, प्राविधिक धारका २७० र साधारणतर्फ ७,७११ जना विद्यार्थी रहेका छन् । परीक्षाका लागि जिल्लाभर २८ सामुदायिक तथा ८ संस्थागत गरी ३६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईंले जानकारी दिएका छन् ।







