३० फागन, नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको मधुवनस्थित भृकुटी माध्यमिक विद्यालयमा बालअधिकार, बाल संरक्षण, समावेशी सिाइ कवातावरण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको उद्देश्य विद्यालय समुदायमा बालअधिकार र बाल संरक्षणबारे सचेतना अभिवृद्धि गर्नु, बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणका लागि प्रोत्साहन गर्नु तथा मानव बेचबिखन जस्ता अपराध नियन्त्रणका लागि सामूहिक प्रतिबद्धता सुदृढ गर्नु रहेको क्लबले जनाएको छ ।
सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, बाल क्लबका सदस्यहरू, प्रधानाध्यापक तथा अन्य सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।
सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बीकेले अभिमुखिकरणमा सहजीकरण गर्दै बालबालिकाका मौलिक अधिकार, विद्यालयमा बाल संरक्षणको आवश्यकता, समावेशी शिक्षण अभ्यास तथा मानव बेचबिखनका जोखिम र त्यसका रोकथामका उपायबारे विस्तृत प्रस्तुति दिएका थिए । उनले बालमैत्री, सुरक्षित र समावेशी विद्यालय वातावरणले मात्र बालबालिकाको समग्र विकास र कल्याण सुनिश्चित गर्न सक्नेमा जोड दिए ।
कार्यक्रम फिल्ड सुपरभाइजर सबित्रा भट्टले सञ्चालन गरेकी थिइन् । सो अवसरमा विद्यालयका प्रधानाध्यापकले विद्यालयलाई बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरणयुक्त संस्था बनाउनेतर्फ विद्यालयले गरिरहेका प्रयास र प्रतिबद्धताबारे जानकारी दिएका थिए ।







