५ माघ, नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा नेपालगन्जका रमेश चन्द्र कुमालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी कुमालले गराएका हुन् ।
उनले भनेका छन्, ‘म रमेश चन्द्र कुमाल, बाँके जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्दछु ।
देशको वर्तमान राजनीतिक अवस्था, जातीय विभेद, सामाजिक असमानता, छुवाछुत, बेरोजगारी, पेशागत उत्पीडन तथा राज्यको पहुँचबाट टाढा पारिएका नागरिकहरूको पीडालाई नजिकबाट महसुस गर्दै मैले यो निर्णय लिएको हुँ । म कुनै दल विशेषको प्रतिनिधि होइन, म जनताको साझा आवाज बन्न चाहन्छु ।
मेरो उम्मेदवारीको मूल उद्देश्य जात, वर्ग, पेशा, लिंग वा पहिचानका आधारमा हुने सबै प्रकारका विभेदको अन्त्य गर्दै समानता, न्याय र समावेशी लोकतन्त्रको स्थापना गर्नु हो । विशेष गरी दलित, आदिवासी÷जनजाति, पिछडिएका वर्ग, श्रमिक, किसान, व्यापारी, युवा, महिला तथा राज्यको पहुँचबाट वञ्चित समुदायहरूको हकहितका लागि म संसदमा दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
मेरो प्रमुख प्रतिबद्धताहरू यस प्रकार रहेका छन्ः
– जातीय समानता र छुवाछुत अन्त्यका लागि प्रभावकारी कानुनी तथा सामाजिक पहल
– पिछडिएका, सीमान्तकृत र श्रमिक वर्गको अधिकार संरक्षण
– स्थानीय स्तरमै रोजगार र स्वरोजगार सिर्जनाका कार्यक्रम
– साना तथा मझौला व्यापारी र उद्यमीको हकहित सुनिश्चितता
– स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा सबै नागरिकको समान पहुँच
– सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा प्रतिवद्धता
– युवा, महिला तथा अपाङ्गता भएका नागरिकको सशक्तिकरण
– जनताको प्रत्यक्ष सहभागितामा आधारित विकास र नीति निर्माण
– स्वतन्त्र, इमान्दार र जनमुखी प्रतिनिधित्व
म बाँके क्षेत्र नं. २ का सम्पूर्ण नागरिकहरूलाई विचार, विवेक र विश्वासका आधारमा साथ, सहयोग र समर्थनका लागि हार्दिक अपिल गर्दछु ।
जनताको विश्वास नै मेरो शक्ति हो ।’
रमेश चन्द्र कुमाल (स्वतन्त्र उम्मेदवार)
प्रतिनिधिसभा सदस्य, बाँके क्षेत्र नं. २
सम्पर्क नं. ९८५८०२९४११






