२४ पौष, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्तर्गतको कार्य सम्पादनमा जिल्ला मै उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा स्वास्थ्य सूचकहरुको आधारमा प्राप्त कुल ७९.३६ अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो ।
प्रथम भएको डुडुवा गाउँपालिकालाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशन चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले उत्कृष्ट प्रमाणपत्रसंगै सम्मान गरे । डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको ‘स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको प्रथम चौमासिक अवधिको समिक्षा तथा कार्ययोजना गोष्ठी’मा उत्कृष्ट पालिकाहरुलाई सम्मान गरिएको हो ।
स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको आधारमा डुडुवाले सबै भन्दा बढी अंक ल्याएर सर्बोत्कृष्ट भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार मूल्यांकनका क्रममा पालिकाले स्वास्थ्य सेवा अन्तर्गत विभिन्न सूचकको आधारमा उत्कृष्ट देखिएको हो ।
जिल्लामा डुडुवाले विगतका वर्षदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएकोले त्यसले स्वास्थ्य सेवामा सुधार ल्याएको र विरामीलाई सेवा लिन सहज भएको छ ।
डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर घरमा स्वास्थ्य सेवा अभियान संचालन गर्दै आएको छ । अहिले पालिकाका चार वटा स्थानमा निःशुल्क प्रयोगशाला, जेष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभूत सेवा, टाढा तथा सेवाबाट बञ्चितीकरणमा परेको गाउँमा थप स्वास्थ्य एकाइको स्थापना, सामुदायिक आँखा उपचार केन्द्र, नेपाल सरकारले उपलब्ध गराउने औषधी बाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निःशुल्क औषधीको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घरमै स्वास्थ्यकर्मीद्वारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
उनका अनुसार विपन्न नागरिकलाई आँखा उपचार तथा शल्यक्रियामा सहयोग, नागरिक आरोग्य केन्द्र, हिरमिनिया, कम्दी र बनकट्टीमा घुम्ती रुपमा गर्भवती महिलाको भिडियो एक्स–रे र बेतहनीमा दैनिक सेवा संचालन, पाँच शैयाको आधारभुत अस्पताल संचालनको तयारी गरिएको छ ।
यसैगरि ७५.२१ अंकका साथ जानकी गाउँपालिका दोस्रो र ७५.२१ अंकका साथ खजुरा गाउँपालिका ७१.९७ अंक पाएर तेस्रो भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here