३० कार्तिक, नेपालगञ्ज । विभिन्न धार्मिक कार्यक्रमको आयोजन गरि आज गुरु नानक जयन्ती मनाइँदैछ ।
सिख धर्मका प्रवर्तक गुरु नानक देवजीले विश्वलाई सर्व धर्मको सन्देश दिए, जसले मानव प्रगति र कल्याणलाई अनिवार्य रूपमा जोडिएको सबै मूल्य र सत्यलाई जन्म दिएको छ ।
श्री गुरु नानक देवजी क्रान्तिकारी दूरदर्शी, एक महान् दार्शनिक, विचारक र एक क्रान्तिकारी समाज सुधारक थिए । उनको दर्शन मानवतावादी दर्शन थियो जसको प्रभाव आउने अनेक शताब्दीसम्म संसारमा रहिरहने छ । आजको दिन गुरु नानक अर्थात् सिख धर्मावलम्बीका गुरुको जन्मदिन हो । आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरु पर्व पनि भनिन्छ र संसारभरका सिख धर्मावलम्वीहरुले बडो श्रद्धाका साथ मनाउने गर्दछन् । कार्तिक पूर्णिमाकै दिन सिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो । सिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्बीहरुको प्रभात फेरिका साथ आजको दिनको प्रारम्भ गरिन्छ र यस्तो प्रभात फेरिमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिन्छ ।
बिहानको समय यसरी गरिने भजनलाई ’असा दि भार’ भनिन्छ । यस्ता भेलाहरूलाई ’अमृत भेला’ भनिन्छ र ’अमृत भेला’ पछी ’लगांरु’ अर्थात् निःशुल्क सामुदायिक भोजन गर्ने गराउने चलन हुन्छ र यस्ता भोजहरू गुरुद्वाराका स्वंसेवकहरुले आयोजना गर्दछन् यस्ता भोजहरू आयोजना गरेर कुनै पनि जात, वर्ण, लिंग वा समुदायका मान्छेहरू त्यसमा सहभागी हुन छुट हुन्छ ।
दुई दिन अगाडिदेखिनै पवित्र ग्रन्थ ’गुरु ग्रन्थ साहिब’को ४८ घण्टासम्म अध्ययन गरेर गुरु पर्वको दिन विधीविधान अनुरूप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्ययनलाई ’अखण्डपथु’ भनिन्छ ।
यस क्रममा गुरु पर्वको एक दिनअघि नगर कीर्तन गर्ने चलन छ जसमा विभिन्न सांस्कृतिक झाँकीहरू निकालिने गरिन्छ । जसमा गुरु ग्रन्थ साहिबको झुलुवा (पालकी) बोकेर भजन कीर्तन गर्दै नगर परिक्रमा
गरिन्छ । यस्तो झाँकीहरूमा सिख समुदायको परम्परागत हतियारहरू जस्तैः भाला, तरवारहरु, पन्जाबी फलामे चक्कु आदिको प्रदर्शन र त्यससँग सम्बन्धित आत्मरक्षामा आधारित पारम्परिक खेल देखाइने गरिन्छ ।
रात्रिकालीन भजनकिर्तनलाई ’रहरास साहिब पाठ’ भनिन्छ ।
यस्तै आज चतुर्मास र कार्तिक स्नान समापन पनि गरिँदैछ ।
कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन गरिने चलन छ । चतुर्मासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वास गरिन्छ । त्यसैले यो समयमा विभिन्न विशेष काम तथा शुभकार्यहरु शुभारम्भ गरिँदैन ।
यो समयमा भगवान् विष्णु निद्रामा हुने भएकाले शुभ तथा मङ्गल कार्यहरू रोकिएको मानिन्छ । आजबाट फेरि शुभ कार्यको थालनी गर्न सकिन्छ, नयाँ सुरुवात गर्न सकिन्छ भन्ने विश्वास रहेको छ ।