२७ असोज, नेपालगञ्ज । हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमीको अवसरमा स्थापित गरिएका दुर्गा प्रतिमाहरु आइतवार नदीमा विसर्जन गरिएको छ ।
घटस्थापनाको दिनदेखि नगर तथा विभिन्न ग्रामीण क्षेत्रमा स्थापित गरिएका दुर्गा प्रतिमाहरु बाजागाजा तथा विभिन्न झाँकीको प्रदर्शन गर्दै नदीमा लगेर विसर्जन गरिएको हो । त्यस अवसरमा विभिन्न क्लबका बालक तथा युवाहरुले लठ्ठीकला लगायत आ–आफ्नो कला प्रदर्शन गरेका थिए ।
असत्यमाथि सत्य तथा आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको शास्वत सन्देश दिने यस पर्वको पहिलो दिन गत असोज १७ गते बिहीवार घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरि विजया दशमी पर्व प्रारम्भ भएको थियो ।
घटस्थापनासंगै प्रारम्भ हुने यस पर्वमा दुर्गा भवानीको विभिन्न ९ रुपको पूजा उपासना गरिन्छ । यी नौ दिनमा घर–घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्ने गरिन्छ ।
दशमी तिथि अर्थात् विजया दशमीको दसौँ दिन । यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । यसै दिन दुर्गा भवानीले महिषासुर नामक असुरको वध गरेको भनेर उल्लेख पाइन्छ ।
टीका, जमरा अनि रमाइलोको वातावरण दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्वमाथि मानवताको विजयका रूपमा यो पर्वलाई लिइन्छ ।
यसबीच नेपालगञ्जमा सञ्चालनमा रहेको १५७औं रामलीलामा बडा दशैको दिनमा रावणको बध गरिएको छ ।
बडा दशैंको अवसरमा रामायणमा आधारित रामलीला अन्तर्गत नेपालगञ्जको रामलीला मैदानमा सञ्चालन भएको रामलीलामा दशमीको दिनमा रावणको बध गरिएको हो ।
यो रामलीला गत १५६ वर्षदेखि सञ्चालनमा रहेको छ ।
रामलीला सञ्चालक समितिका सदस्य रमेशचन्द्र कुमालले घटस्थापनाको दिनदेखि नै विधिवत रुपमा रामलीला मैदानमा रामलीला मञ्चन गर्दै आएको र रामायणमा आधारित रामलीलामा रामको राज्याभिषेक गरी समाप्त हुने जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here