नेपालगन्ज, भदौ १३ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा स्थानीयलाई बाढी र डुबानबाट जोगाउन कामको लागि नगद क्रियाक्लाप सञ्चालन गरेको छ ।
युके एड र स्टार्ट फण्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले बाँके र बर्दियामा सञ्चालन गरेको ‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड लोकल इनुन्डेसन परियोजना’ अन्तर्गत गुलरिया नगरपालिकामा सो क्रियाक्लाप सञ्चालन गरिएको हो ।
गुलरिया ५ बालापुरमा सञ्चालन गरिएको कामका लागि नगद क्रियाक्लापमा सो स्थानका ३० जनाको सहभागिता रहेको जनाउँदै बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले उनिहरुले आफ्नो टोल क्षेत्रलाई बाढी र डुबानबाट जोगाउन पानी जम्न नदिन नालाहरु सफा गर्ने, सिंचाइ नहर र बाटोहरु सफा गरेर पानीको सहज निकासका लागि काम गरिरहेको बताउनुभयो ।
उहाँले यो कामका लागि नगद क्रियाक्लापले स्थानीय समुदायलाई बाढी र डुबानको सम्भावित जोखिमबाट बच्ने तयारीको महत्व बुझाउनुका साथै उनिहरुले सो बापत पाउने नगदबाट आधारभूत आवश्यकताहरु पुरा गर्न सहयोग मिल्ने बताउनुभयो ।
सो परियोजना अन्तर्गत बाँके र बर्दिया जिल्लाका ६ वटा ठाउँमा कामका लागि नगद क्रियाक्लाप सञ्चालन गरिने योजना रहेको बाँके युनेस्को क्लबले जनाएको छ ।
तराईका जिल्लाहरुमा भारी बर्षाका कारण नालाहरु सरसफाइको अभावले विभिन्न गाउँबस्तीहरु डुबानमा पर्ने तथा सडकमा पानी जमेर अवरुद्ध हुने गरेकोले सो बाट स्थानीयलाई जोगाउन यूकेएड र स्टार्ट फन्ड नेटवर्कको सहयोगमा बाँके र बर्दियामा सो परियोजना सञ्चालन गरिएको छ ।
क्लबका अनुसार उक्त परियोजना बाँकेको राप्तीसोनारी, नरैनापुर र डुुडुवा गाउँपालिकामा तथा बर्दियाको गुलरिया र राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकमा सञ्चालन गरिएको छ ।
परियोजना अन्तर्गत पालिकामा रहेका सेफआउस ( सुरक्षित आश्रयस्थल ) हरुको मर्मत सम्भारसहित विभिन्न आवश्यकता पुरा गर्ने, नाला र सडकमा पानी जाम हुन नदिन सरसफाई गर्ने, डोर टु डोर स्वयंसेवक परिचालन गरेर बाढी र डुबानबाट जोगिने उपायबारे सचेतना फैलाउने लगायतका कामहरु भइरहेका छन् । बिभिन्न प्रकारका सचेतना फैलाउन पोस्टर पम्फलेटको प्रयोगका साथै थारु, अवधी र नेपाली भाषामा बिभिन्न स्थानीय एफएम रेडियोमा जिंगल बजाउने कार्य पनि भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here