२९ बैशाख, नेपालगन्ज । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा वेस्टर्न हस्पिटल, नेपालगञ्जले “मेकानिकल भेन्टिलेसन” विषयक एक दिवसीय विशेष कार्यशालाको सफल आयोजना गरेको छ । नर्सिङ सशक्तिकरण कार्यक्रम २०८१ अन्तर्गत वेस्टर्न नर्सिङ कलेजको सभाहलमा सम्पन्न उक्त कार्यशालामा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट आएका ४० जना नर्स तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यशालाले सहभागीहरूलाई गहन उपचार सेवामा अत्यावश्यक मेकानिकल भेन्टिलेसन सम्बन्धी सैद्धान्तिक ज्ञान, व्यवहारिक प्रयोग, उपकरणको सठिक प्रयोग, तथा बिरामी हेरचाहमा आवश्यक सावधानीबारे सशक्त अभिमुखीकरण गराएको थियो ।
‘Empowering Nurses, One Breath at a Time’ भन्ने नारासहित यो कार्यक्रमले आधुनिक उपकरणमार्फत जीवनरक्षक उपचारमा नर्सहरूको भूमिकालाई थप सशक्त बनाउने उद्देश्य राखेको थियो । कार्यक्रममा नेपाल मेडिकल एशोसिएसन, भेरी शाखाका अध्यक्ष डा. रूपानन्द अधिकारी, डा. निर्मल ज्ञवाली लगायत अन्य विशिष्ट व्यक्तित्व, वरिष्ठ चिकित्सकहरू तथा प्रशासकीय पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रम बिहान ८ः३० बजे सुरू भई अपराह्न ३ बजे सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरूलाई वेस्टर्न हस्पिटलका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक कन्सल्टेन्ट सर्जन डा. विनोद कुमार थापा, वरिष्ठ अर्थोपेडिक कन्सल्टेन्ट सर्जन डा. किरण गुरुङ, वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा कार्यशाला निर्देशक डा. पारस पाण्डे, कन्सल्टेन्ट आपतकालीन चिकित्सा विज्ञ डा. सलमान निजाम, तथा कार्यक्रम संयोजक तथा वेस्टर्न हस्पिटल नर्सिङ विभाग प्रमुख सन्दीपा शाक्यद्वारा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमा वक्ताहरूले गहन उपचार सेवामा नर्सहरूको अतुलनीय भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू स्वास्थ्य सेवा सुधारमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
वेस्टर्न हस्पिटलले प्रमाण–आधारित अभ्यास र निरन्तर तालिमलाई प्राथमिकता दिँदै, नर्सहरूको क्षमता अभिवृद्धिमा लगातार योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस प्रकारका तालिमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here