२८ फागुन, नेपालगञ्ज । शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पर्व आज हर्षाेल्लासका साथ मनाइँदै छ ।
तिन प्रकारका ल्होसारहरू मध्य हिमाली समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ ।
यस ल्होसारमा अन्य समुदायहरूको पनि उत्कृष्ट समभाव अनि सक्रियता रहेको पाइन्छ ।
शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनि मनाङै लगायत अन्य धेरै समुदायले ल्होसार पर्व मनाउने गरेका छन् ।
ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ ।
मुसाबाट सुरु हुने वर्षहरू बँदेल वर्षमा पुगेर सकिन्छ । यो वर्षचाँही पुरुष काठे ड्रागनको वर्ष हो ।
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समुदायले ल्होसार सुरु हुनु एक महिना अघि नै आ–आफ्नो घर रङ्गाउने, फोहोरहरू फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकु भन्ने वाक्यांश र अष्ट मङ्गलका चिन्हहरूले घर सजाउने गर्दछन् ।
आजको ल्होसारको सबैभन्दा महत्वपूर्ण कुरा भने खाप्से हो । मैदाको पिठोबाट बनाइएको एक प्रकारको यो मिठाई आजको विशेष परिकार हो ।
हिमाली हावापानीको कुशल आँकलन गरेर आजका दिन उम्रिने गरी गहुँको बिउँ छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ, यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ बालीका रुपमा लिइन्छ ।
ल्होसारको यस विशेष साँझमा खाइने एउटा विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारिएको हुन्छ त्यसलाई गुथुकु भनिन्छ । यो परिकारलाई आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेर खाने गर्दछन् । गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेर पकाइएको हुन्छ ।
आजको दिन आँगन अनि घरको छत लगायत गुम्बा अनि चैत्यहरूमा भएका पुराना ध्वजाहरूलाई परिवर्तन गरिन्छ । हिमालका हावाहरूले मन्त्र लेखिएका यी कपडाका ध्वजाहरूलाई हल्लाउँदा एउटा अदभूत सङ्गीत भर्दछ । यी झन्डाहरूले संसार भरी शान्तिको एउटा अद्वितीय कामना अभिव्यक्त गर्दछन् ।
एक किंवदन्ती अनुसार भगवान् बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरूबिच लडाइँ भइरहेको थियो । तर लडाँईमा देवताहरू असुरसँग पराजित हुन्छन् त्यही बेला भगवान् बुद्धले ल्हयी ओङ्बु ग्याचेन भगवान इन्द्रु का माध्यमबाट विजय शक्ति मन्त्र अर्थात् ग्याल्जेन चेमु दिन्छन् । त्यही मन्त्रको प्रभावले देवताहरूले असुरहरूलाई पराजित गर्छन् । यस विश्वासका आधारमा शेर्पा समुदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाँगने प्रचलन सुरु भएको मानिन्छ ।
ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ, तर दुवैको अर्थ भने एकै हो । आज नयाँ लुगा लगाउने र पानीका मुहानहरूमा गएर नाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवताकलाई चढाउने गरिन्छ ।
साथै यस अवसरमा मिठो मसिना खानेकुराहरू खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपाल सहित चीन, मङ्गोलिया, बर्मा सिक्किम, भुटान लगायतका देशमा पनि मनाइन्छ ।
ग्याल्पो ल्होसार पर्वको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here