८ माघ, नेपालगञ्ज । नेपालगञ्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुने भएको छ ।
अस्फाल्ट पीच सडक निर्माण कार्यको सोमवार एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेका छन् ।
निर्माण कम्पनी निरज एण्ड निराजन विल्डर्स नेपालगञ्ज–१८ बाँकेले ९७ लाख लागतमा निर्माण गर्न लागेको अस्फाल्ट पीच सडकको शिलान्यास गर्दै नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिए । उनले गुणस्तरीय कामका लागि स्वयम् टोलबासीले चासो र खबरदारी गर्नुपर्ने बताए । विष्टले सडक पूर्वाधार विकासमा नेपालगञ्ज उपमहानगर पालिका पर्यत्नशील रहेको सन्देश यो सडकले दिने बताए । नगर उपप्रमुख कमरुद्दिन राईले निर्वाचनका बेला स्थानीयसमक्ष गरिएको प्रतिबद्धता पूरा हुने क्रममा रहेको बताए ।
संघीय सशर्त अनुदान र नेपालगञ्ज उपमहानगरपालिकाको लागतमा बन्न लागेको वडा नम्बर ४ बसपार्क र वडा नम्बर १९ सुर्जीजाउँलाई जोड्ने यो सडक असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि चैतभित्रै निर्माण सकिने नेपालगञ्ज उपमहानगर पालिकाका इन्जिनियर चन्दन राज दासले बताए । उक्त सडक ८ मिटर चौडा र ८१७ मिटर लामो रहेको दासले जानकारी दिए ।
त्यसक्रममा टोलबासीका तर्फबाट टोल विकास संस्थाले नगर प्रमुख विष्ट, उपप्रमुख राई, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर १९ का वडा अध्यक्ष प्रशुराम कुर्मी, इन्जिनियर दास, निर्माण कम्पनीका प्रतिनिधिलाई खादा लगाइदिएर धन्यबाद ज्ञापन गरेको थियो । सडक पीच बन्ने भएपछि स्थानीय खुसी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here